www.tandavnews.com
Fact ~ In search of truth

मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचकमा उछाल

काठमाडौँ।

मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ ।

शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो ।

शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको प्रभाव शेयर बजारमा परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.०५ अङ्कले ओरालो लागेर दुई हजार ७८.५१ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अङ्कले उकालो लागेर ३९८.३३ मा पुगेको छ । कूल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता शेयर रु दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ मूल्यमा खरिद बिक्री भयो ।

नेप्सेका अनुसार कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २२.८८, व्यापार ८८.०१, होटल तथा पर्यटन ७४.२, विकास बैंक १७७.३२, जलविद्युत् ८४.५, वित्त ११७.९९, उत्पादन १००.३९, अन्य १०३.८२, लघुवित्त १७५.१७, जीवन बीमा २०७.७७, सामूहिक लगानी कोष ०.१७ र लगानी २.१ अङ्कले उकालो लागेको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६७ अर्ब ९८ करोड ६८ लाख ४७ हजार ५८१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु ३९ करोड ७१ लाख ३१ हजार बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी रु छ करोड ८२ लाख ९३ हजार ९४७, हिमालयन डिस्टिलरी रु छ करोड ५९ लाख ९१ हजार ८९५, एनआइसी एशिया बैंक रु छ करोड २१ लाख ८१ हजार ४५० र अरुण काबेली पावर रु छ करोड १४ लाख १३ हजार ९३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै स्वाभिमान लघुवित्त ९.६८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतले कमाएका छन् ।

यसैगरी एनएमबी बैंकको ऋणपत्र १.५२, ग्लोबल आइएमइ बैंकको ऋणपत्र १.०६, एनआइसी एशिया ग्रोथ स्कीम ०.७२, मेगा म्युचुअल फण्ड एक ०.६२ र ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।

रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.