www.tandavnews.com
Fact ~ In search of truth

भारतीय राजदुत श्रीवास्तव र पोखराका मेयर आचार्य बीच भेटवार्ता

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ ।

प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ ।

पेाखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेको भन्दै भारतको बनारस लगायत विभिन्न सहरमा नियमित उडान मार्फत पोखरालाई भारतसँग जोड्न चाहेको बताए ।

Batas

त्यसका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनको राजदूत श्रीवास्तवलाई आग्रह गरे । साथै प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोग प्रति आभार प्रकट गरे ।

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकोले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा समेत प्रकट गरे ।

भारतीय राजदुत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रशंसा गर्दै नेपाल सरकारसँग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने बताए । भारतले नेपालको राजधानी काठमाडौं पछि पोखरालाई धेरै महत्व दिएको चर्चा गरे ।

काठमाडौं पछि पोखरालाई महत्व दिएर नै यहाँ पेन्सन क्याम्प नै राख्ने देखि विभिन्न परियोजनामा सहकार्य भएको राजदुत श्रीवास्तवले बताए । उनले पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूँहरुले चाहेको र नेपाल सरकारसंग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडी बढ्ने आश्वासन समेत दिए ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.