www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सङ्क्रमित बढे, सतर्कता अपनाउन आग्रह

वालिङ।
केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो ।

अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण गर्दा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताए।

जिल्लाका ११ पालिकामध्ये हाल पुतलीबजार, वालिङ र चापाकोट नगरपालिकामा सङ्क्रमणदर धेरै छ । सङ्क्रमण देखिएका बिरामीलाई आवश्यक औषधि तथा स्वास्थ्य परामर्शसहित होमआइसोलेशनमा बस्न र अप्ठ्यारो भएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउन अनुरोध गरिएको उनले बताए।

Batas

“बिरामीलाई अहिले होमआइसोलेशनमा बस्न भनेका छौँ भने स्वास्थ्यमा कुनै असजिलो महसुस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न वा आउन भनिएको छ”, उनले भने, “स्वास्थ्य संस्थामा आवश्यक उपकरण अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, एन्टिजेन किट, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ ।” सङ्क्रमणदर बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सक्रियता बढाएको छ ।

पहिलाको जस्तै कोरोनाले दीर्घरोगी वा लामो समयदेखि औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकलाई समस्या पार्न सक्ने भएकाले उक्त वर्गका मानिसले उच्च सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए। “सकेसम्म भीडभाडमा नजान र जानैपर्ने अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ”, उनले भने, “स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डको पालनामा जोड दिनुहोस् ।”

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेशन केन्द्रलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राखिने उनले बताए। कोभिड–१९ को परीक्षणको दायरालाई बढाउँदै लैजानका लागि आवश्यक ब्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

वालिङस्थित गह्रैँ प्राथमिक अस्पतालमा एक हप्ताको अवधिमा ५७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सिनियर ल्याब असिस्टेन्ट ईश्वर कोइरालाले जानकारी दिए। “उच्च ज्वरो, रुघाखोकी, जीउ दुखेका वा कोरोनाको सम्भावित लक्षण देखिएका बिरामीको परीक्षण गर्दै आएका छौँ”, उनले भने, “बीचमा हराएको कोरोना सङ्क्रमण फेरि ह्वात्तै बढेको छ, उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।” पुतलीबजार र चापाकोट नगरपालिकामा पनि कोरोनाको सङ्क्रमणदर बढ्दै गएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.