www.tandavnews.com
Fact ~ In search of truth

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावमा भोलि संसद् बैठकमा छलफल हुने

काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्तावबारे छलफल हुने कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयले प्रकाशन गरेको दैनिक कार्यसूचीको सम्भावित कार्यक्रम अन्तर्गत चौथो बुँदामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यक्रम राखिएको छ ।

Batas

आइतबारका लागि राखिएको सम्भावित कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन २९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।

२०७८ साल फागुन १ गते माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस तत्कालीन सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमा तत्कालीन कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका थिए।

विभिन्न २१ वटा बुँदामा महाअभियोग लगाउनुका आधार र कारण खुलाएर संसदमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए।

त्यसपछि प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले महाभियोग सिफारिस समिति गठन गरे पनि त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.