www.tandavnews.com
Fact ~ In search of truth

मध्यबिन्दु जिल्ला अस्पतालमा चैतदेखि बन्द छ शल्यक्रिया सेवा

कावासोती ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए ।

“चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ”, उनले भने ।

Batas

जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको शल्यक्रिया सेवा हुँदै आएको थियो । सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए । अहिले अस्पतालमा सजर्न चिकित्सकसमेत छैनन् ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरबहादुर थापाको सरुवा भएपछि मेसुको पद रिक्त भएको छ ।

अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ को भएपनि ७ मात्रै कर्मचारी छन् । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएपनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् ।

थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचेअनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताए । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.