www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा खोलाको नजिक पालिकास्तरीय अस्पताल बन्दै

गलकाेट।
यतिबेला निसीखोला गाउँपालिकाको पालिकास्तरीय अस्पताल धमाधम निर्माण थालिएको छ । निसीखोला – ४ झिम्पामा निर्माणाधीन पालिकास्तरीय आधारभूत अस्पताल भने जोखिमपूर्ण स्थानमा निर्माण थालिएको जनाउँदै टिप्पणी भएको छ ।

एक वर्ष अगाडि निसीखोला गाउँपालिकाले संघीय सरकारले विनियोजन गरेको बजेटबाट अस्पताल निर्माण गर्न थालेको थियो भने बीचमा काम रोकिएर अहिले भवनको पिलर हाल्ने काम धमाधम भइरहेको छ । तर l निर्माणाधीन भवन नजिकैबाट बगिरहेको निसीखोलाका कारण अस्पताल जुनसुकै बेला जोखिममा पर्ने देखिन्छ ।

विपद्मा चाहिने अस्पताल जुनसुकै समयमा निसीखोलाले क्षति पु¥याउने जनाउँदै अहिले अस्पताल निर्माणस्थल नजिकैबाट बगेको खोलासहितको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । गत वर्ष मङ्सिर १५ गते अस्पतालको शिलान्यास गरिएको थियो ।

Batas

अस्पताल निर्माणका लागि गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमानमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएको छ । दश शय्याको पालिकास्तरीय अस्पताल निःशुल्क जग्गा खोज्ने क्रममा उक्त स्थानमा निर्माण थालिएको हो । आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको अस्पताल निसीखोलाको छेउमा छ । हिउँदको समयमा खासै जोखिममा नरहे पनि वर्षात्को समयमा भने निसीखोला उर्लिएर निर्माणाधीन अस्पतालको नजिक पुग्ने गरेको छ ।

यस विषयमा केही व्यक्तिले अस्पताल जोखिममा रहेको जनाउँदै निर्माण रोक्नुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले तटबन्धन गरी संरक्षण गरेर निर्माणलाई तीव्रता दिनुपर्ने मत राखेका छन् । निसीखोलाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले कार्यपालिकाको निर्णय र सबैको सहमतिमा सोही स्थानमा निःशुल्क जग्गा प्राप्त भएपछि अस्पातल निर्माण गर्न थालेको हो बताए।

“अस्पताललाई लाग्ने आठ रोपनी जग्गा किन्न सक्ने पालिकाको क्षमता थिएन, निसीखोलामा मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि जग्गाको भाउ आकाशिएको छ”, उनले भने, “धेरै स्थानमा जग्गा खोजियो, निःशुल्क पाउन सकिएन यो ठाउँमा यहाँका स्थानीयले निःशुल्क आठ रोपनीभन्दा बढी जग्गा दिनुभयो, पालिकाको केन्द्रका हिसाबले समेत सबैलाई पायक पर्ने स्थानमा रहेको छ, खोलाको नजिकै भएकाले पालिकाले खोलाको जोखिम हटाउन केही संरचना पालिकाले बनाउनुपर्छ ।”

उनले गाउँपालिकाले जग्गा छनोट गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलगायतको टोलीले त्यस ठाउँको निरीक्षण गरेपछि अस्पताल निर्माणका लागि उपयुक्त भएको भनेपछि आफूहरुले निर्माण अगाडि बढाएको जानकारी दिए ।

अस्पताल बनाउन १५ स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् । निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले अन्य स्थानमा जग्गा व्यवस्थापन नहुँदा यो ठाउँमा अस्पताल निर्माण गर्न थालेको बताए। उनले अस्पताल बन्ने स्थल खोलाको जोखिममा रहे पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको भनाइ छ । अस्पताल जोगाउनका लागि तटबन्धन गर्न रु २० लाख विनियोजनसमेत भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.