www.tandavnews.com
Fact ~ In search of truth

७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि

चितवन।
चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । केसीले भने, “यो वर्ष डेङ्गुको सङ्क्रमण फैलिने जोखिम उच्च छ ।” भदौ, असोज र कात्तिक डेङ्गुका लागि उच्च जोखिमका महिना रहेको उनले बताए।

डेङ्गु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । डेङ्गुको सङ्क्रमण देखिए एक्कासि ज्वरो आउने, ज्वरो पाँच/सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिए ।

Batas

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारीले अहिले दिनहुँजसो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताए। उनले भने, “पहिलाको भन्दा अहिले डेङ्गुका बिरामीको सङ्ख्या बढ्दो छ ।” डा अधिकारीका अनुसार अहिले डेङ्गुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत रहेको छ ।

डेङ्गु रोगको सङ्क्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने अधिकारीले बताए। घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.