www.tandavnews.com
Fact ~ In search of truth

पंक्षि स्थान्तरणको विकल्प खोजिदै

ल्याण्डफिल्ड साइड आसपासमा बसोबास गरिरहेका पंक्षीहरुका कारण विमानस्थल सञ्चालनमा अवरोध हुने

पोखरा।
पोखराको ल्याण्डफिल्ड साइडमा वर्षौदेखि विचरण गरिरहेका पंक्षिहरुको स्थान्तरण तथा सुरक्षित बसोबासको विकल्प खोज्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पूर्वि नवलपरासीमा सञ्चालनमा रहेको जटायु रेस्टुरेन्टको अवलोकन गरेका छन् । प्रमुख आचार्यले सो रेस्टुरेन्ट सञ्चालनमा अपनाइएका असल अभ्यासको स्थलगत अवलोकन गरेका हुन् ।

‘‘सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ल्याण्डफिल्ड साइड आसपासमा बसोबास गरिरहेका पंक्षीहरुका कारण विमानस्थल सञ्चालनमा अवरोध हुने देखियो,’’ आचार्यले भने ‘‘तिनीहरूलाई आवश्यक आहारा तथा सुरक्षित अवासका लागि स्थानान्तरण आवश्यक रहेकाले उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा जटायु रेस्टुरेन्टको अवलोकन गरिएको हो ।’’

पोखरामा २० औँ वर्षलाई पुग्ने ल्याण्डफिल्ड साइड सञ्चालनमा ल्याएपनि विमानस्थलका कारण व्यवस्थापनमा समस्या भएको उनले सुनाए। ‘‘फोहोर कहाँ फाल्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुनै चिन्ता थिएन । तर आज अवस्था फेरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि हाल सञ्चालनमा रहेको स्थानबाट ल्याण्डफिल्ड अन्यन्त्रै सार्नुपर्ने भएको छ, हामी उपयुक्त विकल्प खोजिरहेका छौँ ।’’ प्रमुख आचार्यले ल्याण्डफिल्डको दिगो व्यवस्थापन गरी उपयुक्त निकास खोजिने बताए । उनका अनुसार विमानस्थललाई सुरक्षित बनाउनका लागि पंक्षिहरुको स्थानान्तरण पनि चुनौतीपूर्ण छ ।

Batas

‘‘हाल अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिलहरूले घाम तापिरहेका हुन्छन् । आसपासमा कयौँको संख्यामा गिद्ध र चराचुरुङीहरू पनि आवतजावत गरिरहेका छन्’’, प्रमुख आचार्यले भने, ‘‘तिनीहरूको व्यवस्थापनका लागि उपयुक्त विकल्पका रूपमा जटायु रेस्टुरेन्ट एक हुनसक्छ भन्ने हेतुले नवलपुरमा भइरहेको गिद्ध संरक्षण कार्यको अवलोकन गरिएको हो ।’’ नवलपुरमा गिद्धहरूको संरक्षणका लागि गरिएको कार्य प्रशंसनीय रहेको उनले सुनाए।

नेपालमा पहिलो पटक पूर्वि नवलपरासीको कावासोती नगरपालिका अन्तर्गत नमुना मध्यवर्ती सामुदायिक वनमा जटायु रेस्टुरेन्ट स्थापना गरी गिद्ध संरक्षण अभियान सुरु गरिएको हो । हाल रेस्टुरेन्टमा सयौँ गिद्धहरू छन् । गिद्धहरू लोप हुँदै गएपछि नेपालमा पनि यसको संरक्षण कार्य सुरु गरेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक एवं पक्षीविद् डिबी चौधरीले जानकारी दिए ।

अवलोकन टोलीमा प्रमुख आचार्य सहित पंक्षिविद् मनसान्त घिमिरे, वातावरण महाशाखाका प्रमुख निर्मलमान सिंह भण्डारी, सरसफाइ शाखा प्रमुख कल्पना बराल, पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइड हेर्ने कर्मचारी रेशम जिसी लगायतको सहभागिता रहेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.