www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको  ट्रफी सार्वजनिकीकरण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उनले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताए। उनले भने, “आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुआत गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।”

नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रियरुपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उनले नेपाल खेलकुद प्रेमी देश भएकोसमेत बताए। युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिए। उक्त ट्रफी चाँदी र सुन जडित करिब रु १० लाखको लागतमा तयार गरिएको हो ।

Batas

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।

उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पुर्‍याएर प्रतियोगितास्थल पोखरामा लगिने उनले जानकारी दिए। सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच प्रतिस्पर्धा हुनेछ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.