www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई सफलता

पाेखरा।
नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई अधिक सफलता मिलेको छ । गत शुक्रबार र शनिबार काठमाडौं स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगितामा कास्कीका खेलाडीहरुले विभिन्न तौल समूहमा पदक जितेका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ ४५ बर्ष भन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । रानीपौवा स्पोर्ट्स सेन्टरका खेलाडी गुरुङले ५३७.५ केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् । त्यस्तै प्रतियोगितामा महिला तर्फ सबै भन्दा धेरै तौल उचालेर ज्योति थापा ओभरअल च्याम्पियन बनिन् ।

बब्स जिमका थापाले ५५.१ देखि ६३ केजी तौल समूहमा ३४७.५ केजी तौल उठाएर प्रथम हुँदै ओभरअल च्याम्पियन बनेकी हुन् । सोहि तौल समूहमा कास्कीकै पुनम बम्जनले ३२७.५ केजी तौल उठाएर रजत पदक जितिन् । त्यस्तै ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै सनिस श्रेष्ठले स्वर्ण पदक हात पारे। श्रेष्ठले ५४२.५ केजी तौल उठाएका थिए ।

Batas

९३.१ केजी तौल भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा सुमिन परियारले ४८४.५ तौल उठाएर रजत पदक जिते। त्यसै गरि महिला तर्फ ६३ केजी भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा शर्मिला शाहले स्वर्ण पदक जितिन् । शाहले ३९२.५ केजी तौल उठाएकी थिइन् । सोहि तौल समूहमा कास्कीकै सिमा गुरुङले ३७७.५ केजी तौल उठाएर रजत पदक जितिन् ।

५५ केजी भन्दा कम तौल समूहमा सपना गुरुङले २७७.५ केजी तौल उठाएर कास्य पदक जितिन् । प्रतियोगितामा महिला तर्फको ओभरअल च्याम्पियन ज्योति थापाले रु एक लाख प्राप्त गरिन् । त्यस्तै मास्टर ओभरअल च्याम्पियन टेकेन्द्र गुरुङले २५ हजार रुपैयाँ प्राप्त गरे । बाँकी विभिन्न तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलोले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगर सहित पदक प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फको ओभरअल च्याम्पियन भने काठमाडौंका सुकदेव श्रेष्ठ भए । सुकदेव र ज्योति थापा अघिल्लो संस्करणका च्याम्पियन पनि हुन्।

प्रतियोगितामा भाग लिन कास्कीबाट ९ जना पुरुष र ६ जना महिला गरि १५ जना सहभागी भएको कुरा नेपाल पावरलिफ्टिङ संघ कास्कीका अध्यक्ष हसन गुरुङले बताए । गुरुङले अरु जिल्लाको तुलनामा कास्कीले अधिक सफलता प्राप्त गरेको बताए । ‘ पावरलिफ्टिङ खेलमा कास्कीका खेलाडीहरु निकै मिहिनेतका साथ लागेका थिए । अहिले सफलता मिल्दा खुसि लाग्यो,’ गुरुङले भने, ‘ यसमा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको पनि ठुलो साथ रहेको छ।

आर्थिक मात्र नभई विभिन्न रुपमा सहयोग गर्नले नै यो सफलता मिलेको हो। आगामी दिनमा पनि यस्तै सहयोग भए पावरलिफ्टिङ खेलमा हाम्रो प्रदेश सधैँ अगाडी रहनेछ । ‘पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी र रेफ्री समेत रहेका गुरुङ १५ जना खेलाडीका नेतृत्व गरेर आफैँ राजधानी पुगेका थिए ।

प्रतियोगितामा १५८ खेलाडीले सहभागिता जनाएका थिए । नेपाल पावरलिफ्टिङ संघ प्रतियोगीताको पहिलो संस्करण २०७७ चैतमा आयोजना गरेको थियो । संघका अध्यक्ष सुन्दर भुषालले संघले कार्यक्रम गर्ने तयारी गरिरहँदा रुप कार्कीको निधन भएकोले उनकै सम्मानमा यो प्रतियोगिता सुरु गरिएको बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.