www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा दुई आयोजना सञ्चालनका लागि दक्षिण कोरियाको करिब दुई अर्ब अनुदान सहयोग

काठमाडौं ।
दक्षिण कोरिया सरकारले नेपालमा दुई आयोजना सञ्चालनका लागि करिब दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

कोरियामा काम गरि फर्केका नेपाली कामदारहरूलाई स्थिर पुनः एकीकरण गर्न सहयोग गर्ने र नेपाल प्रहरीको साइवर ब्युरोलाई सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै आयोजना सञ्चालन गर्नका लागि सो अनुदान रकम खर्च गरिने छ ।

दुई आयोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा शुक्रवार अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि दक्षिण कोरियाका राजदूत चोड. सुक पार्कले हस्ताक्षर गरे।

Batas

समझदारी अनुसार कोरियामा आप्रवासी भई नेपाल फर्केका नेपाली कामदारहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्युरो स्थापना गरिने छ ।

कोरियामा आप्रवासी भई नेपाल फर्केका नेपाली कामदारहरूको स्थिर पुनर्मिलनका लागि स्थापना हुने आयोजनाले नेपालको सामाजिक आर्थिक विकासमा योगदान पुर्‍याउने र कोरियाबाट फर्केका कामदारहरूको पुनर्मिलन मार्फत क्षमता अभिवृद्धि गरी रोजगारी अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाले कोरियामा आप्रवासी भई नेपाल फर्किएका कामदारबीच सूचनाको पहुँच वृद्धि गर्न र कृषि विकास बैङ्क मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि सकारात्मक चक्र एवं समर्थन प्रणाली सिर्जना गरिनेछ ।

त्यसैगरी साइवर ब्युरो परियोजनाको माध्यमबाट नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमतालाई सुदृढ गरी साइबर ब्युरोको भवन निर्माण, सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब स्थापना गरी नेपाल प्रहरीको क्षमता अभिवृद्धि गरिनेछ दुवै आयोजनाहरू नेपाल सरकारका सम्वद्ध मन्त्रालय, अन्य सरकारी निकायहरू र कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइकाको सहकार्य र समन्वयमा कार्यान्वयन हुनेछन् ।

समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरी पुष्करले साइबर अपराध सम्बन्धी घटनाहरूलाई नियन्त्रण गर्न साइबर ब्युरोलाई सक्षम बनाउन तथा कोरियामा काम गरी फर्केका नेपाली कामदारहरूलाई समाजमा पुनर्स्थापित गरी रोजगारी वृद्धि गर्न सहयोग गर्ने बताए।

नेपालका लागि दक्षिण कोरियाका राजदूत चोड.सुक पार्कले सहयोगले नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान प्रक्रियालाई सहयोग गर्न तथा कोरियाबाट फर्केका कामदारले आ-आफ्नो सिपलाई उपयोग गरी उद्यम स्थापनामार्फत रोजगारी सिर्जना गर्न सहयोग हुने बताए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.