www.tandavnews.com
Fact ~ In search of truth

आजबाट आचारसंहिता लागु हुँदै, प्रभावकारी कार्यान्वयनका लागि आयोगको निर्देशन

काठमाडौँ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । निर्वाचन आयोगको हिजो बसेको बैठकले आजदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।

आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ ।

Batas

निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । आयोगले गत भदौ १३ गते सो आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था कार्यान्वयन गराउन विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुने सो आचारसंहिता कार्यान्वयन गराउन ती व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिइएको जनाएको छ ।

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो ।

सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति लगायतले पनि आयोगद्वारा जारी आचारसंहिता कार्यान्वयन गर्नुपर्ने छ । निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.