www.tandavnews.com
Fact ~ In search of truth

सूचनाको हक जति प्रयोग गर्न सक्यो त्यति नै लोकतन्त्र बलियो हुन्छ : सभामुख सापकोटा

काठमाडौँ 
सभामुख अग्निप्रसाद सापकोटाले विकास र प्रविधिको उच्चतम संयोजन हुनसके मुलुकको विकासमा चमत्कारिक परिवर्तन ल्याउन सकिने बताएका छन्।

सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आज काठमाडौँमा आयोजना गरेको गोष्ठीमा सभामुख सापकोटाले सूचनाको हक जति प्रयोग गर्न सक्यो त्यति नै लोकतन्त्र बलियो हुने हुँदा सबैले सूचना पाउने हक उपभोग गर्नुपर्नेमा जोड दिए।

उनले नयाँ प्रविधिको प्रयोग गर्न सकिएन भने मानव अस्तित्व नै असान्दर्भिक हुन जाने अवस्था आएकाले सूचना प्रविधिको विकासको विज्ञानलाई आत्मसाथ गर्नुको विकल्प नभएको  बताए।

Batas

सभामुख सापकोटाले  अबको युग सूचना प्रविधिको युग भएकाले सुशासनका लागि विद्युतीय शासन आवश्यकता भइसकेको बताए।

त्यसैगरी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले केही समयभित्रै अनलाइन प्रणालीबाट सूचना माग्न सकिने व्यवस्था गर्न लागेको जानकारी गराए।

सूचना प्रत्येक नागरिकको हक भए पनि हालसम्म नागरिक तहबाट आयोगमा सूचना माग नभएको  जानकारी दिए।

गोष्ठीमा सूचना अधिकारकर्मी एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले सूचना प्रविधिको विकास, कृत्रिम बौद्धिकता र विद्युतीय शासनसम्बन्धी कार्यपत्र प्रस्तुत गरे।

कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सरकारले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताए।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त प्रमुख अर्जुन घिमिरेले प्राधिकरणले प्रत्येक वडा, पालिका, विद्यालय र स्वास्थ्य चौकीमा इन्टरनेट पुर्‍याउन लागि परेको बताए।

कार्यक्रममा सहभागीहरूले सूचना दिएकै कारण कतिपय कार्यालयका कर्मचारी निलम्बनमा परेका, सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा दुर्व्यवहार भोग्नु परेको र सूचनाको हक कार्यान्वयन नभएको बताए। रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.