www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री थापाद्वारा ५ वर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक

पोखरा।
गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गरेका थिए । सोहि बमोजिम उनले २०७४ माघ देखि हालसम्मको उक्त समयमा राज्यबाट उनको बैंक खातामा ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा जम्मा भएको जानकारी गराए । मन्त्री थापाले बैंकमा जम्मा भएको रकममा आफ्नो व्यक्तिगत रकम समेत थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ बराबरको पैसा विभिन्न विकास र सामाजिक कार्यमा खर्च गरेको बताए।

‘प्रदेश सांसद हुँदा देखि बहालवाला मन्त्रीका रुपमा मैले प्राप्त गर्ने सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु’, उनले भने,‘प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिई सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आत्मसन्तुष्टी मिलेको छ ।’

Batas

मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको जिकिर गरे । प्रदेश सभा र प्रदेश तहको सरकारको यो पहिलो कार्यकाल भएको उल्लेख मन्त्री थापाले गरे । बलियो घर निर्माणका लागि बलियो जगको अति महत्व हुने भन्दै घरको संरचना त्यही जगमा उभिएको अभिव्यक्ति उनको थियो । सोही अनुरुप पहिलो कार्यकाल भएकाले पनि प्रदेशले संघीयताको मर्म र भावना अनुरुप कार्यसम्पादनका लागि विभिन्न कानून तथा आधारभुत संरचना निर्माणका लागि अधिकतम ध्यान र मेहेनत गरेको उनले बताए ।

प्रदेशका कतिपय गतिविधि र क्रियाकलापहरु अझ स्पष्ट रुपमा आम जनमानसमा भिज्न नसकेतापनि यस अवधिमा भएका कानुनका निर्माण र अन्य गतिविधिले अर्को पटकको प्रदेश सभा सञ्चालन र सरकारको चुस्त दुरुस्त कार्यका लागि बाटो तय गरेको भनाई उनको छ । संघीयताको असल अभ्यास अर्काे पटक अझ स्पष्ट देखिनेछ भन्ने विश्वास मन्त्री थापाले लिएका छन् ।

मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको एक जिम्मेबार सदस्यको रुपमा काम गर्न पाउँदा खुशी लागेको बताए । उनले आफु राजनीतिमा नितान्त सेवा गर्ने उद्देश्यनुरुप आएको समेत उल्लेख गरे । ‘राजनीति मेरा लागि पेशा कदापी होइन् । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । राजनीतिमा नितान्त सेवाका लागि आएको हुँ ।’,मन्त्री थापाले भने ।

मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ, ६ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा, ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँ, १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा र ५ लाख २५ हजार २ सय ४७ रुपैयाँ जम्मा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो रकम बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको हो ।

निर्वाचित भए देखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्ष देखि क्रमशः १० लाख ५४ हजार ६ सय ५५, ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, १२ लाख ४७ हजार ४० रुपैयाँ, १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, ११ लाख ३६ हजार ७ सय रुपैयाँ खर्च गरेको जनाइएको छ ।

विगतमा आफुले गरेका कामलाई पार्टीले मुल्यांकन गर्नेमा मन्त्री थापा विश्वस्त छन् । मिडियाको खबरदारीले लोकतन्त्रलाई बलियो बनाउन सघाउने विश्वास व्यक्त गर्दै उनले रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गरेका छन् । मन्त्री थापाले आगामी दिनहरुमा समेत देशको समृद्धी र जनताको जीवनस्तर उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.