www.tandavnews.com
Fact ~ In search of truth

कवादी खोलामा साढे तीन करोडमा पक्की पुल

तनहुँ।
तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गथ्र्यो ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत कवादीखोलामा पक्की पुल निर्माण भएपछि यस भेगका जनतालाई राहत हुने भएको छ । विसं २०७३ माघमा ठेक्का सुरु भई अलपत्र बनेको पक्की पुल केही दिनअघि मात्रै सम्पन्न भएको हो ।

विसं २०७३ देखि अलपत्र परेको उक्त पुल तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कृष्णकुमार श्रेष्ठको सक्रियतामा सम्पन्न भएको हो । उक्त पुलको ठेक्का हिरा एन्ड नमिता कन्स्ट्रक्सनले पाएको थियो । ३१.५ मिटर लम्बाइ र ८.५ मिटर चौडाइ रहेको पुल रु तीन करोड ५६ लाखको लागतमा सम्पन्न भएको हो । “अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफैँ फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका श्रेष्ठका स्वकीय सचिव जगत खड्काले भने। पुल अलपत्र हुँदा यस भेगका जनताले पटक–पटक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

Batas

यस्तै प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँमार्फत चारवटा पक्की पुल निर्माण सम्पन्न भएको छ । आव ०७८/७९ मा रु १६ करोडको लागतमा चारवटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् ।

विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबेँसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी एवं धनमाया मिश्रले जानकारी दिए।

फेदीखोला मोटरेबल पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोला पुल रु दुई करोड नौ लाख, रिस्ती बगुवाखोला पुल रु चार करोड २५ लाख र रिस्ती सोतीबँेसीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो ।

फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेँसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिए।

उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताए।

“सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ”, उनले भने। करिब रु एघार करोडको लागतमा निर्माण कार्य सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेबल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेबल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.