www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

गण्डकी ।

प्रदेश निर्वाचन कार्यालय, पोखराको आयोजनामा शनिबार कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार मनोनयन प्रक्रिया, निर्वाचन आचारसंहितालगायत विषयमा सर्वपक्षीय छलफल भएको छ । छलफलमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

छलफलमा मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने विषयमा निर्वाचन आयोग दृढताका साथ लाग्ने बताउँदै यसका लागि सबैले आआफ्नोतर्फबाट इमान्दार सहयोग गर्नुपर्नेमा जोड दिए ।

Batas

प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवारका लागि चाहिने योग्यताबारे उल्लेख गर्दै उम्मेदवारी दर्ताका विधि र प्रक्रिया सम्बन्धमा जानकारी गराए ।

निर्वाचनका लागि आयोगले खर्चको सीमा निर्धारण गरेको जानकारी दिँदै पराजुलीले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १, २ र ३ का उम्मेदवारका लागि क्रमशः २९ लाख, २७ लाख र ३१ लाख रुपैयाँ खर्च सीमा तोकिएको बताए ।

उनका अनुसार प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नं १(क) र (ख) का उम्मेदवारका लागि क्रमशः १७ र १५ लाख रुपैयाँ खर्च सिमा तोकिएको छ भने क्षेत्र नं २ (क) र (ख) का उम्मेदवारका लागि १५/१५ लाख रुपैयाँ तोकिएको छ । क्षेत्र नं ३(क) र (ख)का लागि १९/१९ लाख रुपैयाँ तोकिएको छ ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षालगायतको उचित प्रबन्ध गराइने बताउँदै सबै राजनीतिक दलको साथ सहयोग मिल्ले विश्वास व्यक्त गरे । उक्त अवसरमा राजनीतिक दल, सञ्चारकर्मी लगायतले आचारसंहिता, त्यसकोे कार्यान्वयनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.