www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश खेलकुद परिषद् नेतृत्वविहीन

कास्की ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुआत हुन अब तीन दिनमात्र बाँकी छ । गण्डकी प्रदेशका आठ जिल्लामा हुने प्रतियोगिताको उद्घाटनअगावै केही खेल भने पोखरामा सुरु भइसकेका छन् भने अधिकांश खेल यही असोज २८ देखि हुँदैछन् ।

प्रतियोगिताका लागि खेलस्थलको मर्मत र अन्य व्यवस्थापकीय काम अहिले तीव्रताका साथ भइरहेको छ । राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी सङ्घीय सरकारको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भए पनि स्थानीय आयोजकका रूपमा गण्डकी प्रदेश सरकारमातहतको खेलकुदको कार्यकारी निकाय प्रदेश खेलकुद परिषद् रहेको छ ।

Batas

स्थानीय आयोजक र व्यवस्थापनको जिम्मेवारी रहेको प्रदेश खेलकुद परिषद् भने अहिले नेतृत्वविहीन बनेको छ । राष्ट्रिय खेलकुदको पूर्वसन्ध्या र केही खेलका प्रतियोगिता सञ्चालन भइरहँदा परिषद्का सदस्यसचिवको पद आइतबारदेखि रिक्त भएको हो । परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ६० वर्षे उमेरहदबन्दीका कारण अनिवार्य अवकाश पाएपछि प्रदेश खेलकुदको कार्यकारी निकाय परिषद् नेतृत्वविहीन भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचारसंहिताका लागू भइसकेका कारण सरकारले तत्कालै परिषद्मा नयाँ नियुक्ति गर्न पाउँदैन । परिषद्को कार्यकारी प्रमुखको पद खाली भएसँगै राष्ट्रिय खेलकुदको तयारी र सरकारका खेलकुदसम्बन्धी अन्य काम प्रभावित हुने ठानिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले भने सदस्यसचिवको पद खाली रहँदैमा खेलकुदका काम अघि बढाउन असर नपर्ने जनाएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालगायतका अन्य परिषद्का सदस्यसचिवले गर्ने सबै कामको जिम्मेवारी मन्त्रालयको खेलकुद महाशाखा प्रमुखले गर्ने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । उनले भने, “परिषद्को नेतृत्व खाली हुँदैमा नवौँका लागि गर्नुपर्ने कुनै पनि काम रोकिँदैन । खेलकुद परिषद् ऐनमै सदस्यसचिवको पद रिक्त भएमा खेलकुद महाशाखा प्रमुखले जिम्मेवारी सम्हाल्ने भन्ने छ । सोहीअनुसार गर्छौँ ।”

प्रदेश खेलकुद परिषद् गण्डकीको स्थापनासँगै हाल अवकाश पाउनुभएका सदस्यसचिव गुरुङले खुला प्रतिस्पर्धामार्फत चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाएका थिए । अवकाश भएका सदस्यसचिव गुरुङले आफ्नो कार्यकालमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडीमा स्थापित गर्न सफल भएको बताए । उनले भने, “हामीले जुन भूमिका खेल्यौँ, त्यो महत्वपूर्ण र उपलब्धिमूलक रहेको छ । प्र्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिकामात्रै खेलेनौँ निश्चित गन्तव्यमा पुग्नका लागि ठोस रणनीतिक योजना तय गरेका छौँ ।”

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.