www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा बढ्यो चुनावी सरगर्मी: उम्मेदवारका आ–आफ्नै दाबी

गलकोट।
आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम सुरु भएको छ ।

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारमा जुट्न थालेका छन् ।

बागलुङमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीदेखि शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत चुनावी मैदानमा उत्रेका छन्। बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी चुनावी मैदानमा छन् । उनीहरुसँग निवर्तमान सङ्घीय सांसद नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठक प्रतिस्पर्धामा छन।

Batas

पाठक विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका थिए। यस पटक भने उनले सत्तारुढ गठबन्धका उम्मेदवार चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा छन् । उनले आफू जिल्लाका युवा बर्गको प्रतिनिधि रहेको बताउछन् ।

बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रतिगमनलाई परास्त गर्न आफू मैदानमा उत्रेको बताउँदै बागलुङको विकासमा आफूले सदैव काम गरिरहेको बताए।

उनले २०५९ सालअघि आफू कांग्रेसकै कडा विरोधी भएको बताउँदै अहिलेको प्रतिगमनलाई सधैँका लागि सिध्याउन पाँच दलीय गठबन्धमा आएको बताए।

मङ्गलबार गठबन्धबाट उम्मेदवार बनेका चित्रबहादुर केसीसहित बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (ख) का उम्मेदवार युवानेता डिल्लीराम सुवेदीले पत्रकार सम्मेलनमार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका थिए ।

बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट डा. सूर्य पाठक, बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार हिराबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (ख) का उम्मेदवार नवराज पौडेल चुनावी मैदानमा उत्रेका छन्।

उता बागलुङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मञ्जु क्षेत्री चुनावी मैदानमा उत्रेकी छन् ।

शिक्षामन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा बाम गठबन्धबाट विजयी भएका थिए। उनले आफूले शिक्षामन्त्री हुँदा शिक्षामा धेरै सुधार गरेको र यस पटकसमेत आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए।

मनोनयन दर्तापछि क्षेत्र नं २ का विभिन्न स्थानमा आयोजना गरेको चुनावी कार्यक्रममा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा आफूले गरेका उल्लेख्य कामका आधारमा जनताले यसपकटसमेत आफूलाई मतदान गर्ने बताए।

यस्तै, माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको समर्थनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गरेपछि बागलुङ पश्चिमको चुनावसमेत चर्चामा छ । घर्तीको प्रतिस्पर्धामा नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिएका छन्।

बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख)का जित शेरचनलाई बागलुङ क्षेत्र नं २ प्रदेशसभा (क) मा उम्मेदवार बनाइएको छ । बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका युवानेता द्रोण कुँवर र नेकपा एमालेका युवानेता लक्ष्मण पुनबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी तथा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारहरूसमेत चुनावी माहोल बनाउन व्यस्त देखिन्छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.