www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा दुई लाख ४८ हजार मतदाता

तनहुँ।
आगामी मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेशको निर्वाचनमा तनहुँबाट दुई लाख ४८ हजार चार सय ९५ मतदाता सहभागी हुँदैछन् ।

गत जेठ महिनादेखि यता चार हजार एक सय ५५ नयाँ मतदाता थपिएपछि उक्त सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। विसं २०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गरेका थिए ।

अस्थायी मतदान केन्द्र

Batas

त्यसैगरी आगामी मङ्सिर ४ गते हुन गइरहेको सङ्घीय तथा प्रदेशको निर्वाचनमा मतदान केन्द्र, मतदानस्थलको साथै अस्थायी मतदान केन्द्र रहने छ । सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, कैदीबन्दी र आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी अस्थायी मतदान केन्द्र स्थापना गर्न लागेको हो । सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले सङ्घीय संसद्को समानुपातिक उम्मेदवारलाई मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले जानकारी दिए।

अन्यको हकमा भने सङ्घीय र प्रदेश दुवै उम्मेदवारलाई मतदान गर्न पाउने छन् । उनले भने, “अस्थायी मतदान केन्द्र निर्धारण गर्न बाँकी रहे पनि यस जिल्लाको हकमा बढीमा तीनदेखि चार वटासम्म हुन सक्छ ।” उक्त निर्वाचनमा यस जिल्लाबाट पुरुष एक लाख १९ हजार छ सय ५० र महिलातर्फ एक लाख २८ हजार आठ सय ४५ जनाले मतदान गर्दै छन् ।

आवश्यकताको आधारमा निर्वाचन आयोगलाई अस्थायी मतदान केन्द्रको लागि सिफारिस गरी पठाइनेछ । उनले भने, “मतदान गर्नबाट कोही पनि नछुटून भनी आयोगले यस किसिमको कार्य व्यवस्था गरेको छ ।”

जिल्लाका ८५ वडामा गरी एक सय ४२ मतदानस्थल र तीन सय पाँच मतदान केन्द्र रहेको उनले जानकारी दिए। तनहुँका दुई निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका गरी ५७ उम्मेदवार चुनावी मैदानमा छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.