www.tandavnews.com
Fact ~ In search of truth

पोखराको हरित यातायात प्रणाली विकास परियोजनामा कोरियाले सहयोग गर्ने

पोखरा।
पोखराको हरित यातायात प्रणाली विकास परियोजनाका विषयमा कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिका बिच छलफल तथा अन्तरक्रिया गरिएको छ । उक्त छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने बताएको छ ।
पाँच दिनसम्म पोखरामा रहेको टोली पोखराको सार्वजनिक यातायात र यसको रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन समेत गरिसकेको छ । टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।
यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले बताए। पोखराको मुख्य चोक पृथ्वी चोकलाई थप विस्तार समेत गरिने छ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिने छ । यस्तै दोस्रो चरण सन २०३० सम्म हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरण सन २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ ।
विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने किमले विश्वास दिलाउनु भएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने छ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।
पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गरे। पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुने बताए।
यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.