www.tandavnews.com
Fact ~ In search of truth

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

बागलुङ।
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् ।

पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका-१ का थिर्तराम गुरुङको भनाइ छ । उनले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताए।

“१२/१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भेटिन्थे, अहिले १/२ वटा पनि भेट्याउन मस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उनले भने, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरुको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताए।

Batas

त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भने, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?”

निसीखोला गाउँपालिका-६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताए। यस्ता घरहरुलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उनको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उनको सुझाव छ ।

घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरु यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उनको भनाइ छ । उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरुमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उनको भनाइ छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.