www.tandavnews.com
Fact ~ In search of truth

पोखराको दिगो विकासमा कोरियाको चासो

पोखरा।
दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन ली सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दिगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताए।
Batas
टोलीले पोखराको दिगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धन सहित हरित सहरी यातायात विकासका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने पूर्व प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको बताएको छ । पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, रिङ रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल देखी लेकसाईडसम्म फास्ट ट्र्याक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले अध्ययन गरिरहेको बताएको छ ।
एक साताको नेपाल भ्रमणमा रहेको टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्य साङ्ग हेन ली, कोरियाको निजी क्षेत्रका दुई व्यवसायीहरू योङ प्यो किम र साङपील किमको सहभागिता रहेको थियो । भेटवार्तामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीको पनि सहभागिता रहेको थियो । टोली पोखरा महानगरपालिकाले प्रस्तुत गरेका सहकार्यका सम्भावित क्षेत्रहरूको अवलोकनका खातिर ३ दिन पोखरामा नै रहने छ ।
कोरियन सांसद सहित त्यहाँका निजी क्षेत्रका व्यवसायीहरूको दोस्रो पटकको पोखरा भ्रमण र पोखराको विकास प्रति उनीहरूले देखाएको चासो प्रति पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरे। प्रमुख आचार्यसँग सो टोलीका नेता लीले यस अघि पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.