www.tandavnews.com
Fact ~ In search of truth

संघर्षले खारिएका कास्की २(१)का एमाले उम्मेदवार भिम कार्की

पोखरा ।

वि.स.२०२६ साल वैशाख २ गते स्याङ्जाको टक्सारमा जन्मिएर हाल पोखरा महानगरपालिकाका वडा नम्वर ३३ भरतपोखरीका स्थायी बासिन्दा रहेका भिम बहादुर कार्की आन्दोलनको राप र तापले खारिएका नेता हुन् ।

आसन्न मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २(१) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ वर्षको कलिलो उमेरमा नै निर्दलीय पञ्चायती व्यवस्थाको कु्रर दमनका विरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर विद्यार्थी आन्दोलन मार्फत न्याय र समानताको पक्षमा आवाज बुलन्द पार्दै संघर्षको मैदानमा होमिएका व्यक्ति हुन् । कार्की १४ वर्षे कलिलो उमेर अर्थात वि .स.२०४० सालमा पहिलो पटक गिरफ्तार परेका थिए ।

Batas

जनताको मुक्तिको खातिर सतिसाल झै उभिएको त्यो बालापन न त कुनै गिरफ्तारी धरपकडले अत्तालियो न त कुनै क्रुर निर्मम यातनाले नै विचलित भयो । पञ्चायत विरोधीहरूलाई क्रुर यातना दिने तत्कालिन शासकको प्रताडनाले कार्कीको हुर्कदो मस्तिष्कमा उव्जेको आन्दोलनको ज्वारभाटा रोकिएन ।

२०४२ सालको आन्दोलन,२०४५ सालको नाकाबन्दी विरोधी आन्दोलन, २०४६ र २०६२–६३ को आन्दोलनमा पटक पटक गिरफ्तारी र जेल जीवन बिताउदा आगो खाएर अगार ओकल्न सक्ने,यातना र संघर्स सजिलै पचाउन सक्ने, क्षमताले एक परिपक्व र आदर्श नेताको रूपमा चिनिन्छन् भिम कार्की ।

विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियुका विद्यालय र क्याम्पसका विभिन्न कमिटीमा रहेर नेपालको विद्यार्र्थी आन्दोलनका सशक्त अगुवाको रूपमा अघि बढेका भिम कार्की वि.स.२०४७ मा पार्टीको स्याङ्जा जिल्ला कमिटी सदस्य र कार्यालय सचिबको जिम्मेवारी कुशलतापूर्बक निर्वाह गरे । जीवनमा जनताको मुक्तीगामी आन्दोलनको कुशल सिपाही र कुशल संगठन क्षमताका धनी भिम कार्कीको वैचारिक र साङ्गठनिक कार्यक्षमताकै कारण पार्टीले उनँलाई तत्कालिन गण्डकी अञ्चलका विभिन्न जिल्लामा संगठन निर्माणमा खटायो ।

पार्टीको आग्रहलाई शिरमा राखेर एक इमान्दार सिपाही भएर २०४८ सालमा गोर्खा जिल्लामा पुगि पार्टीको कामलाई व्यवस्थित बनाउन तल्लिन भए उनी । पार्टीको आदेश शिरोपर गर्ने एक कर्मठ इमान्दार संगठक कार्की फेरि वि.स. २०५२ देखि २०६२ सम्म १९ वर्ष मनाङको सचिवको जिम्मेवारी सहित जनता जगाउन तल्किन भए ।

कतै हिउँका डल्ला, कतै जाडो, कतै पहाड, के अनुकुल, के प्रतिकुल सबै परिस्थितिको सामना गर्दै निरन्तर नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कार्की २०५२ सालमा राष्ट्रिय प्रतिनिधि परिषदको सदस्यमा निर्वाचित भए । त्यसपछि निरन्तर २०७० सालसम्म राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएका उनी २०५८ सालमा गण्डकी अञ्चलको कार्यालय सचिव हुँदै २०६६ देखि २०७४ सम्म पार्टीको केन्द्रीय स्कुल विभागको सदस्य भए ।
पार्टीका वैचारिक प्रशिक्षणहरूमा कुशल प्रशिक्षक उनको परिचय त हो नै कुशल बौद्धिक नेतृत्व उनको अर्को परिचय हो ।

२०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्यको भुमिका प्रभावकारी ढंगले निर्वाह गरेका कार्की एमालेको दशांै महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए लगत्तै कास्की इन्चार्ज भएर कार्यमा तल्लिन भए ।

हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित केन्द्रीय भुमि व्यवस्था विभागको उप–प्रमुखको रूपमा समेत क्रियाशिल छन् ।

निरन्तर ४० वर्ष पार्टी आन्दोलन मै जीवन समर्पित गरेका कार्कीले पटक–पटक पार्टी सरकारमा जादा न कुनै सांसद मन्त्रीको चाहना राखे न त कुनै कुनै राजकीय नियुक्तिको चाहना नै, चुपचाप पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने कामयावी गुणका कारण नै उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारद्वारा गठित भुमी सम्वन्धी समस्या समाधान आयोगको प्रवक्ता सहित केन्द्रिय सदस्यको जिम्मेवारी काँधमा आइपुग्यो ।
जस्तोसुकै कठिन कामलाई पनि अवसरको रूपमा सदुपयोग गर्न सिपालु कार्की जीवनकालमा पहिलो पटक प्राप्त राजकीय यो भुमिकालाई झन् नयाँ ढंगबाट सम्पादन गर्न रत्तिभर पनि चुकेनन् ।

‘समृद्ध नेपाल – सुखी नेपाली’ नै अवको आफ्नो अन्तिम लक्ष्य भएको बताउने कार्की भुमी आयोगमा रहदा कहिले नीति नियम बनाउन तल्लिन भए भने कहिले पूर्वदेखि पश्चिमका अधिकांश जिल्लामा भुमीहिन र अव्यवस्थितहरूको पहिचान र उनीहरूको हक अधिकारको वकालत गर्न चुकेनन् ।

सबै कामहरू सम्पन्न हुने क्रममै रहेका बेला देशमा सरकार फेरिए लगत्तै उनको आयोग पनि विगठन भएसँगै कतिपय काम असरल्ल परे ।

के पी ओली सरकारका अधुरा बग्रेल्ती काम पूरा गर्नु त छदैछ त्यसका अलावा केही व्यवस्थित योजना सहित पार्र्टीकै आदेश अनुसार आफू समृद्ध गण्डकी अनि समृद्ध नेपाल निर्माण गर्ने एक मात्र स्वार्थ सहित प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेको बताउने भिम कार्की एक सादगी,त्यागि र इमान्दार नेताको रूपमा चिनिन्छन् ।

चाहे विकासका योजना बनाउदा होस या कैयौं बौद्धिक बहसहरूमा होस् , आफ्नो प्रभावशाली छवि बनाउन प्रयत्नशील रहने कार्की अबको निर्वाचन मार्फत जनताको मन र मतबाट अनुमोदित हुनेमा ढुक्क छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.