www.tandavnews.com
Fact ~ In search of truth

विद्रोह चेतमा उभिएका एक अविचलित योद्धा ‘रामजीप्रसाद बराल’

पाेखरा ।

गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक,लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो । बिहान उठ्यो, घाँस पराल ग¥यो । दिउसो टालेको जाँघे लगाएर महेश्वरी प्राविमा पुग्यो। जीवन अभावमै बित्यो ।शुक्रराज माविबाट एसएलसी दिँदा सम्म पनि उनको खुट्टामा चप्पल हुँदैनथे, जाँघेबाट पाइन्टमा सरेको त एसएलसीपछि नै हो ।

‘कतिसम्म भने स्कूलको फिस तिर्न नसकेर मैले एकवर्ष जाँच नै दिन पाइन’,सम्झनाको अतिरेकमा हराएका रामजी फुस्फुसाए,‘माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको,लुकाएरै ढिँडो र आँटो खाएको हिजो जस्तै लाग्छ ।’

Batas

अभावकै कारण २०२३ सालमा जन्मेका रामजीले २०४३ सालमा मात्रै एसएलसी भ्याए । अभावले विद्रोह जन्माउँछ । रामजीलाई अभाव र असमानताले नघोच्ने कुरै भएन । उनी युवा हुँदा देशमा पञ्चायत थियो । २०३३ सालको विद्यार्थी आन्दोलन र २०३६ सालको जनमत संग्रहको खुलापन उनको गाउँसम्म पनि आइपुगेको थियो । बहुदलको पक्षमा उभिएका नेता र विद्यार्थीहरुको अभियानले उनको मन छोयो । पञ्चायत नै समस्याको जड हो भन्ने बुझाइ गाढा बन्यो । १० कक्षा पढ्ने बेला उनको स्कूलमा एक हुल युवाहरु आइपुगे ।

‘संसारमा महिला र पुरुष दुई जातमात्र हुन्छन् र गरीबको राज्य स्थापना गर्नुपर्छ’ भन्ने भनाइमा सहमति जनाउँदै उनी तत्कालीन मशालको विद्यार्थी संगठनमा आवद्ध भए । मशाल अर्थात् विद्रोह उनको विद्रोही चेत झन जागरुक भयो । हाल ‘जीवन’उपनामले चिनिने माओवादीका केन्द्रीय सदस्यको जीवनले अर्कै मोड लियो । २०४६ सालको आन्दोलनमा होमिए । खुला राजनीतिमा आएसँगै २०४७ सालमा हँसिया हथौडा अंकित झण्डा सहितको सदस्यता पाए । २०४८ सालमा मशालको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाले उनलाई गाउँ इकाइको अध्यक्षको जिम्मेवारी दियो । २०४९ मा उनी जिल्ला सदस्यमा बढुवा भए । फलामे अनुशासन र अरु कम्यनिष्ट भन्दा फरक देखिने जनमोर्चामा रहँदा उनले अनुशासन र त्यागको पाठ सिके । जनताको मुक्ति बाहेकका सबै विषयहरुलाई मिथ्या ठहर गरे । ‘नीति र नेतृत्व तथा जनतालाई आदर गर्ने संस्कार मैले त्यही बेला सिकेँ’,रामजी भन्छन्,‘पुरानो संरचना नभत्काइ नयाँ बन्दैन भन्ने विचारप्रतिको प्रतिवद्धता पनि वृद्धि भयो ।’

२०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय ग¥यो । उनी जिल्ला कमिटीमै थिए । कमरेड तारा अधिकारीले उनको हातमा एउटा चिठी थमाइन् । तीनजनाको बीचमा चिठी खोल्नू भन्ने निर्देशन थियो । बरालले आफूसँगै अन्य २ जनाको बीचमा खाम खोले रे । खाममा जनयुद्ध सुरु भएका पोष्टर र अनुरोध थिए । ‘जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सीमा भएन, पार्टीप्रतिको विश्वास बढेर आयो,दिमागमा मुक्तिको सपना नाच्न थाल्यो’,उनले अतित सम्झिए ।

मुक्ति मार्ग सजिलो थिएन । माक्र्स–लेनिन,गान्धी, नेपालकै बीपी कोइराला र पुष्पलालको जीवनी पढेर उनले बुझेको त्यही थियो । तर, क्रान्तिमा समर्पण चाहिन्छ भन्ने बुझेका रामजीले आफूलाई योद्धामा परिणत गर्न ढिलाइ गरेनन् । २०५३ सालमा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बने । खुला जीवन भूमिगतमा परिणत भयो । त्यस पछिको कालखण्ड साँच्चिकै कठीन थियो । जतिबेला पनि मारिने डर, भूमिगत संगठन निर्माण, युद्धकालीन आक्रमणका योजनाहरु बनाउने जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरे । कास्कीका आफूभन्दा उच्च तहका र समकालीन नेताहरुले सहादत प्राप्त गर्दा पनि उनी सम्हालिए । निरन्तर मुक्तिको मार्गमा लागि रहे ।

२०५३ मा पूणर्कालिन बन्ने बित्तिकै उनको काँधमा तत्कालीन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी आइलाग्यो । त्यही उपक्रममा थुप्रै फौजी र राजनीतिक योजना बनाएको स्मरण गर्दै उनले भने,‘पूणकालीन बनेपछि बाँचेर यहाँसम्म आइपुगिएला भन्ने त कल्पनै थिएन तर बाँचियो अनि जनताले पाएको एउटा उपलब्धीको साक्षी बन्ने अवसर मिल्यो ।’

madi
machhapuchre

२०५७ मा पार्टीले उनलाई पर्वत जिल्ला सेक्रेटरीको जिम्मेवारी दियो । २०५९ सालतिर पार्टी कमजोर देखिँदा पार्टीले उनको काँधमा कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी थमायो । उनी त्यो भूमिकामा अब्बल देखिए । पार्टी पोलिटब्यूरो सदस्यमा बढोत्तरी भए । २०६२÷०६३ को आन्दोलनले देशमा परिवर्तन सम्भव गरायो । माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । माओवादीले बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा स्थापित भयो ।
उनी २०६२÷०६३ को आन्दोलनलाई जनताको आन्दोलन भन्न रुचाउँछन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई, तत्कालीन एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सम्मको सुझबुझपूर्ण निर्णयबाटै यो उपलब्धी हात लागेको उनको ठहर छ ।

खुला राजनीतिमा आएसँगै पार्टीजस्तै उनको पनि भूमिका फेरिएको छ । उनी पार्टीको केन्द्रीय सदस्य छन् । संविधान सभा सदस्य भएर संविधान लेख्ने रहर पूरा नभएपनि उनी २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्य चुनिए । हाल गण्डकीका अर्थमन्त्री रहेका रामजीले संघीयता संस्थागत गर्न तथा समुन्नत कास्की बनाउन सक्दो योगदान गरेकै छन् । जनताको घरदैलोमा पुगिरहने नेताको रुपमा आफूलाई उभ्याएका छन् ।

उनै रामजीप्रसाद यो पटक प्रजातान्त्रिक वाम गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फका उम्मेदवार बनेका छन् । अब संघीय संसदमा पुगेर कस्केली जनताको आवाज मुखरित गर्ने उनको सपना छ ।
‘एक चरणको क्रान्ति सम्पन्न भएको छ,संविधानमै लेखिएको समाजवादको यात्रा अझै बाँकी छ,अहिले पनि हामी युद्धमै छौँ र यो युद्ध अलि फरक प्रकृतिको छ, अहिले हिजोको उपलब्धीको रक्षा र प्रतिगमनलाई परास्त गर्नु छ ’,उनी अक्सर भन्ने गर्छन् ।

रामजी प्रसादले हिजो प्रजातन्त्रको लागि ज्यान गुमाएका कास्कीका शहीद हरिप्रसाद गुरुङको सपना पच्छ्याएका छन् । माओवादी जनयुद्धका शहीदहरु राज विक्रम भुर्तेल, सीता भुर्तेल,विजय ढकाल, बेपत्ता पाएिका पूर्ण तिमिल्सिना लगायत घाइते र शहीद परिवारको व्यथालाई नजिकबाट बुझेका छन् ।

‘मेरो आफ्नो व्यक्तिगत आकांक्षा केही छैन, म अहिले पनि सामान्य जीवन बाँचेको जनताको सेवक हुँ, भोलि पनि म त्यस्तै रहने हो’,उनी भन्छन्,‘एक बारको जीवनमा फलानो मान्छे पनि थियो है भन्ने काम गर्ने धोको छ र यो धोको पूरा गराउन कास्की क्षेत्र नम्बर ३ का जनताले साथ दिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’

यसो भनिरहँदा अभावले थिल्थिल्याएको र रोगले आक्रमण गरिसकेको शरीर प्रति भने बेपर्वाह देखिए । ‘अभाव र खटाइकै बीच आन्द्रामा समस्या देखियो,इन्टर्नल हर्नियाले पनि गाँज्यो,स्पाइनल कर्ड भन्छन् क्यारे, ढाडको शल्यक्रिया पनि ब्यहोरेँ, यो मेरो दोस्रो जुनी नै हो । यो जुनी जनताकै सेवामा लगाउने हो ।’

त्यही उपक्रममा उनले कास्की क्षेत्र नम्बर ३ को समृद्धिको लागि दर्जनौं योजना सुनाउन भ्याए । उनका योजनाहरु पर्यटन र कृषिको जगमा टेकेर बनाएका योजनाहरुमा स्वरोजगार सिर्जना, कास्की क्षेत्र नम्बर ३ मा उत्कृष्ट कलेज र अस्पतालको स्थापना, जडिबुटी प्रशोधन केन्द्र,ग्रामीण सडकको स्तरोन्नति,पर्यटकीय पदमार्गहरुको संरक्षणसम्म समेटिएका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.