www.tandavnews.com
Fact ~ In search of truth

बारीमै कुहिन थाल्यो अदुवा

डुम्रे।
बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।

बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउछन् । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ”, उनले भने।

गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उनले बताए। “बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको रु दुई सयदेखि रु दुई सय ५० सम्ममा बिक्री गर्दै आएका थियौँ । यसपटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाध्य छौँ । यस वर्ष धार्नीको रु एक सयमा बेच्दैछौँ”, उनले भने, “लगानी नै उठ्दैन यसपटक ।”

Batas

बीउबिजन महँगो मूल्यमा किन्नुपर्ने र बिक्री कम मूल्यमा गर्दा किसान मर्कामा परेका कृषक राना बताउछन्। मुख्यतः अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा बिक्रीमा समस्या भएको उनको भनाइ छ । “अदुवा बारीमै कुहिने, सुक्ने भएपछि निकाल्न थालिएको छ । अलि बढी पानी भएमा पनि कुहिने समस्या आउँछ”, उनले भने ।

कृषक रानाले वार्षिकरूपमा सात सय धार्नी अदुवा उत्पादन गर्छन्। यसपटक अलि कुहिएकाले छिटो निकालिएको उनले बताए। यस क्षेत्र अदुवा पकेट क्षेत्र हो । उक्त क्षेत्रका प्रत्येक किसानले एक सयदेखि नौ सय धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेका उनले बताए। रजिडाँडाका मात्रै २५ घरधुरीले अदुवा उत्पादन गर्दै आएका छन् ।

सो स्थानका कृषकले समूह बनाएर अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उत्पादन गरिएको बीउ शुक्लागण्डकी नगरपालिकाका लागि अदुवाको बीउ निर्यात गरिएको उनले बताए। बिक्री नभएका अदुवाको सुठो बनाएर बिक्रीका लागि बजारमा पठाइने कृषक रानाले बताए। माघ र फागुनसम्म अदुवा निकाल्न मिल्ने र चैतमा बीउ रोपण गर्ने समय हो ।

भिमाद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खनालले अदुवा प्रशोधन बिक्रीका लागि बजार खोजी गर्ने गरेको बताए। गत वर्ष करिब २८ मेट्रिक टन बुटवलको प्रशोधन केन्द्रमा प्रशोधन गरी बिक्रीका लागि तयार रहेको उनले बताए। गत वर्ष प्रतिकेजी रु ४० मा खरिद गरी प्रशोधन केन्द्रमा लगिएको उनले जानकारी दिए।

यस वर्ष प्रतिकेजी रु २८ मा खरिद गर्ने बताउँदै आएको उनी बताउछन् । “नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो । कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो”, अध्यक्ष खनालले भने, “केही भने यहीको बजारमा खपत हुन्छ ।”

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषकले उत्पादन गरेको वस्तुको बजार सिर्जना गर्ने कार्यमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए। तीन तहको सरकारले बजारको व्यवस्थापन गर्न भूमिका खेलेमा कृषि प्रधान देशको भनाइलाई सार्थक बनाउन सकिने उनले बताए।

“विश्वमा पूर्णरूपमा आयातित वस्तु उपभोग गर्ने देश छन् । ती देशसँग समन्वय, सहकार्य गरी व्यापारिक सम्बन्ध कायम गरी देशको आर्थिक समृद्धिलाई प्रमुख बनाउने भूमिकामा देशका मुख्य–मुख्य राजनीतिक दल र तीन तहको सरकारले समन्वय गर्न सके छिटो समृद्ध नेपाल बनाउन सहयोग पुग्नेछ”, उनले भने।

कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ । यस पेशामा युवालाई टिकाउने र स्वदेशमा नै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले नै कदम चाल्नुपर्ने अवस्था रहेको छ ।

अदुवा उत्पादन वृद्धि

अदुवाको बजार मूल्य र बजार पाउन समस्या भए पनि तनहुँमा अदुवा उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

उत्पादनको क्षेत्रफल घट्दो छ । अदुवाको बजार पाउन समस्या भएको छ । तर उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीले बताए। उनका अनुसार तनहुँमा आर्थिक वर्ष २०७७/७८ मा पाँच सय १२ हेक्टर क्षेत्रफलमा सात हजार पाँच सय ४० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा पाँच सय १७ हेक्टर क्षेत्रफलमा सात हजार छ सय २२ मेट्रिक टन अदुवा उत्पादन भएको तिवारीले जानकारी दिए। कृषिमा लगानी वृद्धि गरी इलेक्टिक प्रशोधन गरी बिक्रीका लागि अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न सके कृषकको आकर्षण बढ्ने उनको भनाइ छ ।

प्रतिकेजी रु ६० का दरले बिक्री गर्दा तनहुँबाट रु ४५ करोडको अदुवा बिक्री वितरण हुने गरेको उनले बताए। किसानले रु एक सयमा धार्नी बेच्नुपर्ने परिस्थितिले भने कम हुने उनको भनाइ छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.