www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा मकै, सुन्तला र तरकारी खेती प्रवद्र्धन

गलकोट।
बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाख बजेटले बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती मात्रै प्रवद्र्धन गर्न थालिएको छ ।

वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फर्ममार्फत चालू आर्थिक वर्षमा रु ३० लाख बजेटबाट मकैबाली, सुन्तला र तरकारी खेती प्रवद्र्धन गर्ने कार्यक्रम थालेको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र तरकारी खेतीका लागि रु २० लाखको कार्यक्रम स्वीकृत भएर आएकाले कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव आह्वान गरेको बागलुङ नगरपालिकाको कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिए। केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवद्र्धनका लागि रु १० लाखको कार्यक्रम हुनेछ ।

“यो मकै, सुन्तला र तरकारी खेती प्रवद्र्धनका लागि ससर्त अनुदानको कार्यक्रम स्थान तोकेर आएको कार्यक्रम हो, तित्याङमा यस वर्ष १० लाखको सुन्तला प्रवद्र्धन र रु १० लाखमा तरकारी खेतीका लागि प्रविधि सहितको हाइटेक टर्नेल र थोपा सिँचाइको काम गरिन्छ”, कृषि शाखाप्रमुख केसीले भने, “तित्याङमा सुन्तला खेती राम्रो भए पनि प्रवद्र्धन हुन नसकेको रहेछ, यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तला नर्सरी स्थापना गर्नेगरी प्रस्ताव आह्वान गरेका छौँ ।”

Batas

पछिल्लो समय बागलुङ नगरपालिकाले उन्नत जातको मकै खेती प्रवद्र्धन गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि यन्त्र उपकरणलगायत कार्यक्रमका लागि रु १० लाख बजेट रहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवद्र्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने नगरपालिकाको भनाइ छ । तित्याङमा दुई सय बोटका सुन्तला बगँैचा भएका किसानलाई प्रोत्साहनसमेत गर्ने योजना रहेको बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताए।

“सुन्तला राम्रै फल्ने स्थान हो तित्याङ, बागलुङ बजारमा डोकोमा तरकारी अधिकांश हाम्रै वडाको भित्रन्छ, तर कृषकलाई प्रोत्साहन गर्न नसकेको अवस्था रहेछ”, वडाध्यक्ष थापाले भने “तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन नसकेको अवस्था हो, नगरपालिकाले ल्याएको कार्यक्रमबाट प्रोत्साहित हुनेमा आशावादी छु ।”

पछिल्लो समय तित्याङमा समेत सुन्तला खेतीमा विस्तार भइरहेको छ । बागलुङका क्रियाशील पत्रकार गणेश पौडेलले आफ्नो धानखेतमा दुई वर्षअघि लगाएको २० रोपनी जग्गामा चार सय ५० बिरुवा अहिले हुर्किरहेको बताए। पौडेलको संयुक्त परिवारले धान खेतमा भन्दा सुन्तला खेतीमा फाइदा देखेपछि सुन्तला बगैँचा स्थापना गरेको बताए। तित्याङमा तरकारी खेतीका लागि चारवटा हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यो वर्ष रु १० लाख खर्च गरिनेछ । जसमध्ये यन्त्रिकीकरणसमेत वितरण गरिनेछ ।

सङ्घीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवद्र्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ । तित्याङमा झन्डै पाँच हजार बिरुवाले सुन्तला उत्पादन गरिरहेको कृषि शाखाको तथ्याङ्कले बताउँछ । नगरपालिकाले पछिल्लो समय बजार क्षेत्रमा कौसी खेती प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.