www.tandavnews.com
Fact ~ In search of truth

पोखराको ‘ल्याण्डफिल साइट’ पुर्न सुरु

पाेखरा।
पोखरा महानगरपालिकाले पोखरा-१४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आजदेखि बन्द गरेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटमा फोहरमैला लैजान बन्द गरेको हो । अहिले ल्याण्डफिल साइट पुर्ने काम सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एयरपोर्ट नजिकैको सो ल्याण्डफिल साइट मुख्य बाधक बनेको थियो ।

ल्याण्डफिल साइटका कारण विमानस्थल सञ्चालनमा ढिलाइ भएपछि महानगरले लामो समयदेखि फोहरमैला व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी गरे पनि सफल हुनसकेको छैन ।

Batas

विमानस्थलको अर्को अवरोधका रुपमा रहेको रिठेपानीडाँडा कटानको कामसमेत अहिले भइरहेको छ । सोही डाँडा कटानको माटो ल्याएर अहिले ल्याडफिल साइट पुर्न सुरु गरिएको हो ।

महानगरले ल्याण्डफिल साइटमा फोहर लैजान बन्द गरेर त्यसलाई पुर्न सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार महानगरको फोहरमैला व्यवस्थापनका लागि तत्कालका लागि वडामानै अल्पकालीन व्यवस्था मिलाइएको छ ।

“ल्याण्डफिल्ड साइटमा आजदेखि फोहर फालिने छैन । तत्कालका लागि फोहर व्यवस्थापनका गर्न महानगरका विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको छ”, प्रमुख आचार्यले भने, “फोहरमैला व्यवस्थानका लागि केही ठाउँ हेरिएको छ भने त्यसपछि प्रशोधन केन्द्रसहितको व्यवस्थित ल्याण्डफिल साइट निर्माण गरिनेछ ।”

प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पमा छलफल भइरहेको महानगरले जनाएको छ । महानगरले छिमेकीमूलुक भारतसहित देशभित्रका विभिन्न स्थानमा पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा जानकारी लिएको थियो ।

लामो समयदेखि विमानस्थल सञ्चालनका अवरोधका रुपमा रहेका रिठ्ठेपानीडाँडा कटान र ल्याण्डफिल साइट हटाउने काम भएपछि तोकिएकै मितिमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने विश्वास गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता अनुप जोशीले विमानस्थल सञ्चालनका लागि आवश्यक काम भइरहेको जानकारी दिए । उनले ४० मिटर अग्लो रिठ्ठेपानीडाँडा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने र ल्याण्डफिल साइट हटेसँगै उडानमा थप सुनिश्चितता भएको बताए।

पोखरा विमानस्थल चिनियाँ कम्पनी सिएएमसिईले निर्माण गरेको हो । यसअघि गतवर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलमा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकोमा विसं २०७४ देखि निर्माणकार्य सुरु भएको हो ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.