www.tandavnews.com
Fact ~ In search of truth

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

पाेखरा।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान/अवतरण भएसँगै उत्साह बढेको हो ।

नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् । यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि विमानस्थलबाट व्यावसायिकरुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिरणले बनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसके पनि आन्तरिक उडान भने सोही विमानस्थलबाट हुने निश्चित छ ।

भव्य विमानस्थल निर्माण भएर उडान सुरु भएसँगै यहाँका उद्योगी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतले खुसी साटासाट गरे । परीक्षण उडानमा सहभागी भएर उद्योगी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीले खुसी साटेका हुन् । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित छन् ।

Batas

पोखरा अन्तर्राष्ट्रिय सहरसँग सिधै हवाई सम्पर्क स्थापित हुने भएकाले समेत उत्साह थपिएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नवनिर्मित विमानस्थलमा परीक्षण उडान सफल भएको नयावर्षदेखी विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको बताए। कोरोना महामारीपछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास पर्यटन व्यवसायीले लिएको उनले बताए।

श्रेष्ठले भने, “हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाएका छौँ ।” उनले पोखरामा अन्तर्राष्ट्रिय सुविधाका होटल रहेको र दैनिक २० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलमा परीक्षण उडान सफल भएर विमानस्थल सञ्चालनको अन्तिम तयारी हुनु सबै पोखरेलीका लागि खुसीको कुरा भएको बताए। उनले लामो समयको प्रतीक्षापछि विमानस्थल बनेकाले सबै मिलेर समस्या समाधान गर्दै निरन्तर सञ्चालनका लागि लागि पर्नुपर्ने बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक बनेका रिठेपानी डाँडा कटान र ल्याण्डफिलसाइटको समस्या समाधानसँगै उडान थप सुनिश्चित बनेको छ । ल्याण्डफिल साइटमा पोखरा महानगरले फोहरमैला लैजान बन्द गरेको छ । त्यसैगरी डाँडा कटानको काम पनि धमाधम भइरहेकाले विमानस्थल तोकिएको मितिमै सुनिश्चित भएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार हाल वडामै फोहर व्यवस्थापनको अल्पकालीन व्यवस्थापन गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि जमिन अधिग्रहण गरिएको चारदशकपछि २०७३ सालमा नयाँ वर्षका दिन शिलान्यास भएर काम सुरु भएको विमानस्थल निर्माण २०७४ सालदेखि सुरु भएको हो । विसं २०३२ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर पहिलोपटक जमिन अधिग्रहण गरिएको थियो । पोखरा–१४ चाउथेमा विमानस्थलका लागि छुट्टाएको तीन हजार एक सय रोपनी जमिन लामो समय त्यत्तिक्कै रह्यो । विमानस्थलका लागि थप काम सुरु नहुँदा धेरैले आस मारेका थिए । लामो सङ्घर्षपछि पोखरामा विमानस्थल बनेको हो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.