www.tandavnews.com
Fact ~ In search of truth

सरकार गठनकाे समयसीमा आज सकिँदै, आन्तरिक र बहुपक्षीय छलफलमा दलहरू

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकाे एक साताको समयसीमा आज आइतबार सकिँदै छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समय आज साँझ ५ बजे सकिँदै छ ।

राष्ट्रपतिले प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि गत शुक्रबार आह्वान गरेकी थिइन्। नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा छन् ।

Batas

यसैबीच शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको छ । निर्वाचन सम्पन्न भएपछि शनिबार बसेको पाँचदलीय गठबन्धनका शीर्षनेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी दिशाबारे छलफल गरेको र थप छलफल आइतबार बिहान गर्ने गरी टुङ्गिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

“निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीररूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ”, मन्त्री कार्कीले भने।

शनिबार मुख्यगरी अहिलेको राजनीतिक परिस्थीतिबारे छलफल गरिएको उहाँको भनाइ छ । अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने पनि कार्कीले बताए। “अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ”, सञ्चारमन्त्री कार्कीले भने।

सञ्चारमन्त्री कार्कीले संवैधानिक बाध्यताअनुसार आइतबारसम्ममा सरकार गठनका लागि दाबी गर्नुपर्ने भएकाले गठबन्धनका शीर्ष नेताहरू त्यही तयारीसाथ सहमति निर्माण गर्नेतर्फ केन्द्रित भएको बताए।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.