www.tandavnews.com
Fact ~ In search of truth

चिसोमा पनि मनाङमा पर्यटक

मनाङ।
हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।

“चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौँ,” गौतमले भने, “हिमपात नभए पनि चिसो अत्यधिक छ । खानेपानी जमेको अवस्था छ । तर पर्यटक आउन रोकिएको छैन ।”

पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर आउनुपर्ने उनले बताए। हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने उहाँको भनाइ छ । हिमापत भएपछि भने मनाङ गाउँबाटमाथि जान सक्ने अवस्था नहुने उनले बताए।

Batas

“प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिएका छाैँ । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषिबालीमा समेत समस्या हुने देखिएको छ”, गौतमले भने, “पुसमा हिमपात हुने अवस्था देखिएको छैन । माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ ।”

केही मान्छेको फोक्सोले चिसोलाई सहज रुपमा अनुकूल बन्न सक्छ भने केही व्यक्तिको फोक्सोलाई चिसोले प्रतिकूल बनाउने हुँदा लेक लाग्ने समस्या हुने गौतमको भनाइ छ । कम पर्यटक हुँदा जोखिम कम हुने उनले बताए।

कम हुँदा सहज हुने र बसोबासका लागि समस्या नहुने गौतमले बताए। तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले सञ्चालनमा रहेको उनले जानकारी दिए। त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाएको उनी बताउछन् ।

“हिमपात भएपछि हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरुपमा यात्रा रोकिन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हो यस पदमार्गमा तर हिमपातमा अझ जोखिम बढी हुन्छ”, गौतमले भने। विकट हिमाली जिल्लावासीको विचार, यहाँको मौसम अनुकूलता अनुसार काम गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए। पर्यटकीय क्षेत्र भएकाले अझ सचेतता अपनाउनुपर्ने हुँदा सोही अनुरुप अध्ययन गरी मनाङका लागि सहज वातावरण तयार गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

पर्यटकसँग सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा पर्यटकको जोखिम हेरी निर्णय र सहज बनाउने उनको प्रतिबद्धता छ । चिसोका कारण मनाङमा यति बेला विकास निर्माण बन्द छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.