www.tandavnews.com
Fact ~ In search of truth

विश्वासको मत लिने सन्दर्भमा कांग्रेससँग कुनै सहमति भएको छैन : प्रधानमन्त्री

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारे।

आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘मैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिएँ । त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो । यसले मलाई ऊर्जा दिएको छ ।’

Batas

प्रधानमन्त्री दाहालले संसद्ंमा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए। उनले भने, ‘मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ ।’

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रूपमा सदनमा छ ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

यस्तै सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समग्र मुलुकको परिस्थितीको मूल्याङ्कन गरेर आफूहरूले विशिष्ट निर्णय लिएको बताए। उनले विसं २०५१ मा पनि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई विश्वासको मत दिएको सन्दर्भ जोड्दै अहिले पनि त्यस्तै विशिष्ट निर्णय लिएको जानकारी दिए।

उनले सरकार जोगिने वा नजोगिनेभन्दा पनि मुलुकको आर्थिक अवस्था, संविधानको रक्षा, शान्ति प्रक्रियालाई पूर्णता दिनेलगायतका विषय निर्वाचनको समयमा समेत आफूहरूले गरेको गरेकाले त्यसलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सहयोग गरेको स्पष्ट पारे ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सदनमा आफूहरूले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए। प्रधानमन्त्रीलाई विश्वासको मत किन दिने भन्नेबारेमा सभापति शेरबहादुर देउवाले नै स्पष्ट पारेकाे उनको भनाइ छ ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन ‘हाइज्याक’ भएकाले त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएको प्रतिक्रिया दिए।

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि पनि सरकारलाई समर्थन गरेको बताए। उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको तथा आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएको उल्लेख गरे।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.