www.tandavnews.com
Fact ~ In search of truth

गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ।
अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भमि आयोग, ताहाचलका कार्यरत छन् ।

पोखरेलले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि आयोगले छानविन गरेको हो । आयोगका अनुसार पोखरेल २०४६ असार १ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। आयोगले २०७८ फागुन १५ गतेसम्म सिर्जना गरेको सम्पत्ति, खर्च र लगानीको अध्ययन गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

Batas

पोखरेलले कूल रु तीन करोड ३१ लाख ५५ हजार ६२ बराबरको आय आर्जन गरेको पाइएको छ । घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, विदेशबाट पठाएको विप्रेषण, मोटरसाइकल बिक्री, शेयर बिक्री र कृषि आय हिसाब गरिएको छ ।

सोही अवधिमा पोखरेलले रु चार करोड ३७ लाख ८८ हजार चार सय दुई बराबरको लगानी गरेको पाइएको छ । आम्दानी र खर्च तथा लगानीमा रु एक करोड छ लाख ३३ हजार तीन सय ३९ बराबरको भागको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगले गैरकानुनीरुपमा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेर स्रोत नखुलेको सम्पत्ति विमला न्यौपाने पोखरेलको नाममा समेत लगानी गरेको पाइएको जनाएको छ ।

न्यौपानेको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो जफत गर्न माग गरेको छ । आयोगले श्रीमान्, श्रीमती दुवैलाई बिगोअनुसारको सम्पत्ति जफत र जरिवानाकोसमेत माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.