www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा एम्बुलेन्स अभाव

दुईवटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन्

म्याग्दी।

एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो ।

अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए। “हाडजोर्नीसम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन”, उनले भने, “हामीसँग भएको पाँच वर्ष पुरानो एकमात्र एम्बुलेन्स पनि बिग्रिएर दुःख दिन थालेको छ ।” पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र रु एक लाख ५० हजारभन्दा बढी खर्च भएको डा लामिछानेले बताए । बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई त्यहाँ पुग्ने सवारीसाधन पाउन कठिन हुन थालेको छ ।

आकस्मिक, अक्सिजन लगाउनुपर्ने र हाडजोर्नीबाहेकको समस्या भएका बिरामी ट्याक्सी चढेर अस्पताल जाने गर्छन् । अस्पतालको एम्बुलेन्स बेनी बाहिर गएको र बिरामी धेरै भएको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको एम्बुलेन्स बोलाउने गरिएको छ । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको बताए। लायन्स क्लब, भारतीय दूतावासलगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरिएको सुवेदीले बताए।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ–तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुईवटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन् । दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स पनि मालिका गाउँपालिकाको कार्यालय अगाडि थन्क्याएर राखिएको छ । धवलागिरि, अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको एक/एक एम्बुलेन्स ग्रामीण क्षेत्रका बिरामीलाई सदरमुकाम बेनी ल्याउन व्यस्त हुन्छन् ।

धवलागिरि गाउँपालिकाले गत वर्ष एम्बुलेन्स सञ्चालन गरेको थियो । रेडक्रस र अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विसं २०७५ मा भारतीय दूतावासले प्रदान गरेको हो । मोना युकेले विसं २०७१ मा उपलब्ध गराएको तीनवटा एम्बुलेन्स मर्मत र सञ्चालनका लागि रु १० लाख ८० हजार दुई सय ८० को एम्बुलेन्स सेवा अक्षयकोष स्थापना गरेको थियो । ग्रीन बैंकको बेनी शाखामा रहेको अक्षयकोषको ब्याजबाट एम्बुलेन्सको बीमा शुल्क तिर्ने गरिएको रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.