www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी करिडोर आधाभन्दा कम सम्पन्न

काठमाडौँ।
आयोजना सम्पन्न गर्ने लक्षित समय दुई वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएको छ ।

राष्ट्रिय गौरवको सो सडक आयोजना भौगोलिक विकटता, वन क्षेत्रको प्रक्रियागत झन्झट, बजेट अपर्याप्तता, निर्माण व्यवसायीको ढिलाइलगायतका कारण अपेक्षाकृत प्रगति हुन नसकेको हो । आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा हालको गतिमा काम गर्दा सो अवधि नसकिने देखिएको योजना कार्यालय र आयोजना निर्देशनालयले जनाएका छन् ।

गैँडाकोटदेखि माथि राम्दीसम्मको खण्डमा वन क्षेत्रका कारण निर्माणाधीन भए पनि अरु खण्डमा सम्पन्न भइसकेको आयोजना प्रमुख श्यामबहादुर खड्काले बताए। सो खण्ड ऋण सहयोगमा सडक निर्माण भएको हो । वन क्षेत्रको समस्याका कारण अवरुद्ध सडक हालका लागि कम चौडाइमा कालोपत्र हुने र चौडाइ उपलब्ध भए पनि राजमार्गको स्तरमा निर्माण गरिने योजना रहेको छ । हाल सात मिटर चौडाइ पाइने हुँदा त्यतिमै अघि बढाइने गरी तयारी भइरहेको उनले बताए। उनले भने, “रुख कटानका लागि प्रक्रिया अघि बढिरहेको छ र त्यो सकिएपछि अरुतिर जतिकै चौडाइमा कालोपत्र गरिनेछ ।”

Batas

गैँडाकोटबाट राम्दीसम्म एक सय १६ किमी लम्बाइको खण्ड तल्लो क्षेत्रमा कालोपत्र भइसकेको र माथि २९ किमी मालढुङ्गाबाट जोमसोमसम्मको खण्डमा कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । राम्दीबाट मालढुङ्गासम्मको खण्डमा सडक निर्माणका लागि सम्झौता भइसकेको र निर्माण कम्पनीले काम सुरु गरिसकेको आयोजना प्रमुख खड्काले बताए।

मालढुङ्गा–बेनी र बेनी–जोमसोम खण्डमा कालोपत्र गर्न आवश्यक तयारी काम गरिरहेको उनले बताए। कागबेनीबाट कोरलासम्मको सडकखण्डमा ग्राभेलको काम भइसकेर कालोपत्र गर्न बाँकी छ । माथिल्लो क्षेत्रमा हिउँ परिरहने र गत वर्षहरुमा कोभिडका कारण चीनतर्फको सीमा वनद रहेकाले पनि थप काम हुनसकेको थिएन ।

कागबेनी–कोरला खण्डमा पानी नपर्ने हुँदा ग्राभलले पनि सडक राम्रो अवस्थामा रहेको उनले बताए। सवारी साधन सजिलै आवतजावत गरिरहेको भए पनि त्यस क्षेत्रमा कालोपत्रका लागि पनि तयारी भइरहेको छ । झण्डै ८० किमी लम्बाइको खण्डमा पहिले नै डिजाइन भइसकेकाले अब निर्माण अघि बढाउन लागिएको छ । उनले भने, “स्रोत सुनिश्चितता भएपछि कालोपत्रका लागि ठेक्का अघि बढाइनेछ ।”

जोमसोमबाट कागबेनीसम्मको खण्डमा सबै ठेक्का भइसकेको र निर्माण कम्पनीले सरासर काम गरेमा अबको एक डेढ वर्षमा सकिने प्रमुख खड्काले बताए। कागबेनीबाट माथि चालु आवमा ठेक्का लगाइसकियो भने अबको दुई साढे दुई वर्षमा निर्माण सकिने देखिएको उनले बताए।

सडक निर्माणमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई सचेत गराएर काम भइरहेको आयोजना प्रमुख खड्काले बताए। कालीगण्डकी करिडोरको जोमसोम खण्डमा निर्माण कम्पनीले बीचमा निर्माण रोकेको भए पनि अहिले पत्राचार गरेपछि गति बढाएको उनले बताए। सुरुआतमा काममा ढिलाइ भए पनि समय समयमा झकझकाएर पत्रिकामा सूचना निकाल्ने गरेपछि अहिले गति बढेको उनले बताए।

कालीगण्डकी करिडोरको विभिन्न खण्डमा बर्सेनि वर्षाको समयमा पहिरोका कारण सडक क्षतिग्रस्त हुने गरेको छ । काभ्रेभिर र रुप्से झरना खण्डमा वर्षाको समयमा बढी क्षति हुने गरेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरबका तीन करिडोर एकसाथ अघि बढाइरहँदा अरु दुई करिडोरभन्दा कालीगण्डकी करिडोरमा प्रगति बढी रहेको छ । कोसी करिडोर र कणार्ली दुवैमा ट्याक खोल्न बाँकी रहेकामा यो करिडोरमा केही वर्ष पहिले नै सबै ट्याक खुलिसकेको छ । सडक कालोपत्रको हिसाबले पनि कालीगण्डकी अरुभन्दा अघि रहेको छ । कोसी करिडोरका केही खण्डमा कालोपत्र सुरु भए पनि कर्णाली करिडोरमा अझै कालोपत्र सुरु भइसकेको छैन ।

चालु आवमा जम्मा ४९ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा अहिलेसम्म १० किमी सकिएको गैँडाकोट मालढुङ्गा सडक योजनाले जनाएको छ । कालोपत्र गर्ने सिजन सुरु भएकाले चालु आवमा लक्ष्यअनुसार गर्न सकिने योजना प्रमुख शङ्कर पौडेलले बताए।

आयोजना नै सम्पन्न गर्न दुई आव बाँकी रहेकामा त्यतिमा नसकिने अवस्था रहेको प्रमुख पौडेलले बताए। अझै पनि ३० किमी सडकमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको छ ।

गैँडाकोटबाट राम्दीसम्मको खण्डमा पहिरोको समस्या रहेको प्रमुख पौडेलले बताए। गैँडाकोट क्षेत्रमा वन काटेर सडक निर्माण गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “यो खण्डमा झण्डै १५ किमी कालोपत्र बाँकी रहेको छ ।” कालीगण्डकी करिडोरको किनारैकिनार निर्माण भएको करिडोर नवलपुरको गैँडाकोटबाट सुरु भएर अन्तिम मुस्ताङको कोरलासम्म रहेको छ । करिडोरले जम्मा समेट्ने आठ जिल्लामा नवलपुर, पाल्पा, गुल्मी, पर्वत, स्याङ्जा, म्याग्दी र मुस्ताङ रहेको छ । करिडोरले गण्डकी र लुम्बिनी गरी दुई प्रदेश समेटेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.