काठमाडौँ।
जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरेका छन्।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताए।
शङ्कराचार्य मठका पीठाधीश डा रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहेका सन्त डा केशवानन्द गिरीलगायतले आद्य शङ्कराचार्य आएर बसेकैले यो मठलाई शङ्कराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्व विश्वमै बढेको बताए।
वैदिक सनातनी परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतारका रुपमा लिइन्छ । आद्य शङ्कराचार्यले नै सनातन धर्म, संस्कृतिको रक्षाका लागि भारत वर्षका चार कुनामा चार मठ स्थापना गरेका थिए । ती मठ अहिले पनि आद्य उहाँले नै बनाएको नियमअनुसार सञ्चालन भइरहेको छ ।

आद्य शङ्कराचार्य २८–३० वर्षको उमेरमा नेपाल आउनुभएको थियो । इसापूर्व ४७८ उहाँ नेपाल आउँदा लिच्छवि राजा शिवदेवले शासन गरेको विश्वास गरिन्छ । शङ्कराचार्य नेपाल आएकोे समाचारले समस्त सनातन धर्मावलम्बीको हृदयमा उत्साहको सञ्चार भएको र दर्शन गर्न मानिसको ठूलो भीड लागेको थियो ।
शङ्कराचार्य आफैँले पशुपतिनाथ मन्दिरको प्राङ्गणमा बसेर सबैलाई धर्मोपदेश गर्थे। यसरी नेपालमा हिन्दू धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यले सहरमा घुमीघुमी धर्म उपदेश गर्न थाले । यहाँका ब्राह्मणलाई उनीहरूले नित्य नैमित्तिक कर्म–अग्निहोत्र, पञ्च देवताको पूजा र पञ्च महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारङ्गत ब्राह्मणले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । आद्य शङ्कराचार्य आएर बसेकाले यहाँ मन्दिर र मठ स्थापना गरिएको हो ।
रासस
© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.