www.tandavnews.com
Fact ~ In search of truth

कास्की कारागारलाई आन्तरिक मामिला मन्त्रालयको २० लाख

पोखरा ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्याबारे बुझ्न निरीक्षण गर्ने क्रममा सोमबार भौतिक संरचना मर्मतसंभार गर्न उक्त रकम विनियोजन गरेको बताए ।

मन्त्री थापाले सो बजेट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गरे । सो बजेटबाहेक खेलकुदका सामग्री र पुस्तकालयका लागि पुस्तक तथा त्रिपालसमेत उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

सरकारले उपलब्ध गाराउनुपर्ने सबै सामग्रीमा कमी हुन नदिने बताउँदै उनले आगामी दिनमा समेत सहयोगका लागि तत्पर रहेको बताए । मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कारागारका लागि सो बजेट यथेष्ट नहुने बताए । ‘अहिले हाम्रो मन्त्रालयले २० लाख छुट्याएको छ ।

Batas

यो रकम पर्याप्त होइन, तैपनि यहाँको समस्यामा मन्त्रलायको उपस्थिति जनाउन खोजेका हौं,’ सचिव अधिकारीले भने, ‘आगामी दिनमा पनि थप सघाउन हामी कटिबद्ध छौं ।’

अधिकारीले आगामी आर्थिक वर्षको बजेटमा छुट्टै व्यवस्था गर्न कारागार तथा कैदीबन्दीको समस्या लिखित रुपमा उपलब्ध गराउन जेलरसँग आग्रह गरेका थिए ।

कास्की कारागार प्रमुख भीमराज कोइरालाले आवश्यक कच्चा पदार्थमात्रै उपलब्ध भएको खण्डमा भौतिक पूर्वाधार निर्माणका लागि कैदीबन्दी नै सक्षम रहेको जानकारी दिए । ‘यहाँ बनाउनुपर्ने जे भए पनि कच्चा पदार्थ र सामानको आवश्यकता हो,’ उनले भने, ‘दक्ष जनशक्तिको यहाँ कमी छैन । जे भन्यो, त्यही बन्छ । तर सामानमात्रै चाहिएको अवस्था हो ।’

उनले कारागारको आन्तरिक व्यवस्थापनमा कैदीबन्दीले नै व्यवस्था मिलाएको सुनाए । ‘यहाँभित्र छुट्टै टिम छ । आन्तरिक रुपमा व्यवस्थित बनाउनका लागि समस्या छैन । तर पूर्वाधार निर्माणका लागि भने सरकारले सहयोग गर्नुपर्छ,’ कोइरालाले भने ।

कारागार अवलोकनका क्रममा कैदीबन्दीले कारागारको क्षमताभन्दा बढी कैदिबन्दी रहेकाले बस्न समस्या भएको गुनासो गरेका थिए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहा थापामगरसँगै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ तथा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसी लगायत निरीक्षणमा सहभागी थिए ।

कास्की कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक र पुरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी २ भवन छन् । यी ३ भवन (कास्की कारागार)मा हाल ४५ महिला, ६ आश्रित नाबालिग र ६ सय ९४ पुरुष गरी ७ सय ४५ कैदीबन्दी छन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.