www.tandavnews.com
Fact ~ In search of truth

आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ ।

Batas

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने/नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानल लक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम भएकाले भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण गर्नुपर्ने बताए । बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दीपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलवासे, लालबाबु शेख, बार एशोसिएशनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.