www.tandavnews.com
Fact ~ In search of truth

किसानलाई अनुदानमा कृषि उपकरण

पोखरा।
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। महानगरले हाते ट्र्याक्टर दुई सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर छ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।

कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो ।

Batas

“किसानले गोरु पाल्न छाडे । परम्परागतरूपमा खेती लगाउँदा समय धेरै लाग्छ”, प्रमुख आचार्यले भने, “खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।” कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए। “कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, आचार्यले भने।

अनुदान सहयोगमा हाते ट्र्याक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योति गुरुङले समय र पैसा बचत हुने बताइन्। “गाउँमा हाते ट्र्याक्टर थिएन । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि एक घण्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो”, उनले भनिन्।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.