www.tandavnews.com
Fact ~ In search of truth

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ ।

कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गरेका छन्।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ । योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Batas

सो क्रममा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताए। “अब दुःख दिने काम अन्त्य भएको छ । वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ”, उनले भने। गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफूले पहल गर्दै आएको पनि उहाँले सो अवसरमा उल्लेख गरे।

विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उहाँले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

मुख्यसचिव डा शङ्करदास वैरागी गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राखे। अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ सुरुआत भएको बताए। उनले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा नागरिकले अप्ठ्यारो पर्दा कोषबाट सहयोग लिन सक्ने बताए।

कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उनको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताए। योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उनले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताए।

सामाजिक सुरक्षा कोषमा सङ्कलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता सङ्कटको समस्या गर्न सहयोग पुग्नेमा उनको विश्वास छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको यस कार्यक्रम महत्वपूर्ण रहेको बताइन्। एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया, मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने बताए।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का महासचिव चिरागमानसिंह कुँवरले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन विशेष पहल गर्नुपर्ने बताए।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी वैशाख १ देखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.