www.tandavnews.com
Fact ~ In search of truth

लेक पुगे भेँडाका बथान

लमजुङ।
यहाँका भेँडीगोठमा रहेका भेँडाका बथान यतिबेला पुनः लेक पुगेका छन् । चिसो छल्न बेँसी ल्याइएका घुम्ती भेँडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली भेग पुगेका हुन् ।

यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पु¥याएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताए। उनका अनुसार जिल्लामा तीन सयभन्दा बढी घुम्ती भेँडीगोठ रहेको र अधिकांश भेँडीगोठ लेक तथा हिमाली भेगमा पुगिसकेका छन् ।

सिउरुङ, घलेगाउँ, भुजुङ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेँडीगोठ छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौँली पेसा तथा चलनका रुपमा भेडीगोठलाई हेरिन्छ । भेँडीगोठ बर्सेनि छ महिना लेक र ६ महिना बेँसीमा राख्ने गरिन्छ ।

Batas

लमजुङका भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेको भेँडीगोठालाको भनाइ छ । पसगाउँको भेँडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेँडीगोठ लके थुर्जु नजिकै पुगेको छ । अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दीर्घराज घलेले बताए।

उनका अनुसार घलेगाउँको दुई भेँडीगोठ रहेका छन् । ती भेँडीगोठ वैशाख लागेपछि लेक जाने भएका छन् । यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुग्ने गर्दछन् । दोर्दी गाउँपालिकामा करिब आठ घुम्ती भेँडीगोठ रहेका छन् । अधिकांश भेँडीगोठ बेँसीबाट यतिबेला इलमपोखरी पुगिसकेको पालिकाको पशुपन्छी शाखाका कर्मचारी पवन रेग्मीले बताए।

बेँसीमा रहेको बेलामा भेँडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन् । वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको प्रतिकिलो रु तीन सय मूल्य रहेको छ । त्यस्तै वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने गरेको बताइएको छ ।

मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताए। उनका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको छ । जिल्लामा रहेका अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेँडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ ।
रासस

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.