www.tandavnews.com
Fact ~ In search of truth

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

काठमाडौँ।
सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन्। नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिए।

सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान दिन नसकिएको उनको भनाइ छ । “नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुनेगर्छ”, उनले भने, “तर यो विषयको प्रचारप्रसार र विकास जसरी हुनुपर्ने थियो सो अनुसार हुन सकेको छैन ।”

उनले सहरीकरण र प्रकृतिमा आइरहेका प्रतिकूल परिवर्तनले आखाँका समस्या बढेको र दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए।

Batas

कार्यक्रममा नेत्रज्याति सङ्घका महासचिव भरतबहादुर चन्दले आर्थिक अभाव र पहुँचबाट टाढा रहेका नागरिकलाई विभिन्न कार्यक्रममार्फत आँखासम्बन्धी उपचार निःशुल्क उपलब्ध गराउँदै आएको बताए।

उनले भने, “सङ्घले दृष्टिविहीनताकोे अधिक प्रभावित क्षेत्र तथा वर्ग समुदायको पहिचान गर्दै उक्त क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । सन् २०२२ सम्म ३० लाख सात हजार दुई सय ९१ को आँखा परीक्षण र दुई लाख ७२ हजार नौ सय ५० जनाको निःशुल्क आँखाका शल्यक्रिया गरिएको छ ।”

उनले सङ्घले सन् २०२३ देखि २०३० सम्मका लागि रणनीतिक योजना बनाइरहेको जानकारी दिए। विसं २०३५ मा प्रा डा रामप्रसाद पोखरेल ‘आँखा बा’ र अन्य सामाजिक अभियन्ताको सामूहिक प्रयासबाट सङ्घको स्थापना भएको थियो ।

नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ । नेत्रज्योति सङ्घले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ देखि २०२२ सम्म १० लाखभन्दा बढी विद्यार्थीको आँखा परीक्षण र पाँच सय ५० विद्यार्थिको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिएको छ ।

नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ मा शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको छ । सर्वेक्षणअनुसार ४० वर्षअघि एक सय जनामध्ये औसत एक जनामा हुने दृष्टिविहीनता अहिले घटेर तीन सय ५८ बराबर एक जनामा हुने गरेको छ ।

महासचिव चन्दका अनुसार कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान परियोजनामार्फत तीन हजार जनाको निःशुल्क शल्यक्रिया गरेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.