www.tandavnews.com
Fact ~ In search of truth

प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

पोखरा ।
यो दाजुको मिरमिरे आँखा, फूल मायामा नभूल लगायतका कालजयी गीतका गायक स्वर्गीय प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक एवम् स्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्लेमा चैत १२,१३ र १४ गते कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर केसीले गरे । उनले अन्नपूर्ण गाउँपालिकाकाको पहिचान बढाउन स्वर्गीय गायक प्रवीण गुरुङले संगीतका माध्यम महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । यस्ता कार्यक्रमको निरन्तरताले सर्जकको सच्चा सम्मान हुने विश्वास उनलाई छ । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रा अधिकारी देवकोटा र समाजसेवी आई बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोस्रो दिन चैत १३ गते प्रवीण गुरुङ स्मृति पुरस्कार गम बहादुर गुरुङलाई प्रदान गरिएको छ । उनलाई नगद १० हजार सहित दोसल्ला र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको हो । गम बहादुर गुरुङ स्व. प्रवीण गुरुङको सांगीतिक जीवनका सहयात्री हुन् ।

Batas

त्यस्तै सो अवसरमा अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका भित्रका एक जना स्रस्टालाई प्रत्येक वर्ष गर्दै आएको सम्मान स्वरुप यस वर्ष भने लोकदोहोरी गायक बाबुराम पौडेललाई सम्मान गरेको छ । नगद १० हजार, दोसल्ला र सम्मान पत्र सहित उनलाई सम्मान गरियो । दोस्रो दिनको प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सांसद प्रकाश बराल थिए । उनले अन्नपूर्ण गाउँपालिकाको सांस्कृतिक संरक्षणमा सबै एक जुट भएर लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

सो अवसरमा प्रत्येक दिन नेपालका चर्चित लोकदोहोरी गायकगायिकाहरु जीवन दाहाल, कुमार पुन, कृष्ण अखेली, रामजी पौडेल, गंगा पौडेल, माया गुरुङ, चोलेन्द्र पौडेल लगायतका कलाकारले प्रस्तुति राखेका थिए । यस्तै सुगम संगीतमा गायक सन्तोष बस्याल र प्रीया गुरुङको प्रस्तुति रहयो । अन्तिम दिन साँझ भने लेकाली ब्याण्ड र नविन गुरुङको प्रस्तुति थियो । कार्यक्रमको संयोजन नविनले नै गरेका थिए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.