www.tandavnews.com
Fact ~ In search of truth

मुग्लिन पेाखरा सडक विस्तार : आँबुखैरेनीतर्फ ७ किमी कालोपत्र गरिँदै

दमौली ।
मुग्लिन पेाखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै ७ किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

‘यो खण्डमा विद्युत पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ’, सुवेदीले भने, ‘सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ ।’

Batas

विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिए । उनले भने, ‘जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ । ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौं ।’

आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताए । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको योजनाले जनाएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.