www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसकाे अवसरमा ७ जना श्रष्टालाई सम्मान गरिँदै

पाेखरा।
गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ ।

प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रवार श्रष्टालाई सम्मान गर्न लागिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानको स्थापना २०७८ साल वैशाख १५ गते भएको थियो ।

उनका अनुसार गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङलाई सम्मान गर्न लागिएको हो ।

Batas

उनीहरूलाई जनही रु एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने श्रेष्ठले जानकारी दिए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङलाई नगद रु ५० हजारको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की र लक्ष्मी थापालाई नगद रु २५ हजारको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको संयोजकत्वमा गठित छनोट समितिले सम्मान गरिने व्यक्तित्व छनोट गरेको हो । समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका छन् ।

कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाउनुका साथै झाँकी प्रदर्शन, नृत्य प्रस्तुति र गायन प्रस्तुति आदि आकर्षण रहेको आयोजकले जनाएको छ । साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य गरिरहेकोमा यस वर्ष थप महत्त्वपूर्ण कार्य गरेको जनाइएको छ ।

गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गर्नुका साथै प्रदेशका विभिन्न जिल्लाका २८ श्रष्टाको बायोग्राफी तयार गरिएको श्रेष्ठले जानकारी दिए । परम्परागत गीत संरक्षण र श्रष्टा स्वास्थ्य बिमा कार्यक्रमसमेत थालनी गरिएको उनले बताए ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.