www.tandavnews.com
Fact ~ In search of truth

दुर्लुङ समाज पोखराको साधारण सभामा सम्मान

पोखरा
ताण्डव न्यूज।

दुर्लुङ समाज पोखराको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गाउँ छोडेर सहरमा छरिएर रहेकाहरुलाई एकावद्ध समाजले बनाएको बताए ।

उनले दुर्लुङ समाजले सुरुवात गरेको एम्बुलेन्स अभियानलाई सकारात्मक रुपमा हेरिएको सुनाए । ‘राज्यले किनेर दिनुपर्ने ठाउँमा तपाईहरु लागि पर्नुभएको छ ,’ उनले भने, ‘एम्बुलेन्स छिटो सञ्चालनमा आउनेछ । कताकता एम्बुलेन्सको दुरुपयोग पनि हुने गरेको समाचार आउने गरेका छन् । त्यसमा सावधानी अपनाउन पर्ने हुन्छ ।’

प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले जहाँ गएपनि मातृ भूमिको जिम्मेवारी विर्सन नहुने बताए । उनले दुर्लुङ समाजले पोखरा आएर बसेकाहरुलाई एउटै छातामा राख्ने र दुख सुखमा साथ दिने काम गर्न पर्ने सुझाव दिए ।

Batas

‘भावना एकता कायम, दुख पिरमा साथ दिने काम गर्नपर्छ,’ उनले भने, ‘एम्बुलेन्स अभियान सुरु भएको छ । यो निजि स्ततरबाट गाह्रो काम हो । तपाईहरुले आट्नु भएको छ । यसमा बसैको साथ छ ।’ एम्बुलेन्स सञ्चालनको लागि बजेट निकै लाग्ने हुँदा उनले नआत्तिन अनुरोध गरे । ‘तपाईहरु नआत्तिनुहोस् । केही रकम पुगेन भने हामी छौं । एम्बुलेन्स अभियानले पूर्णता पाउँछ ।’

साधारण सभामा संघीय सांसद पदम गिरी र पर्वतबाट प्रदेश सभाको निर्वाचनमा निर्वाचित रेखा गुरुङ, भक्त कुँवर र मित्रलाल बस्याललाई सम्मान गरिएको थियो । प्रदेश सभा सदस्य मित्रलाल बस्यालले समाजले गरेको सम्मान प्रति कृतज्ञता व्यक्त गर्दै एम्बुलेन्स अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्का प्रदेश सभा सदस्य भक्त कुँवरले समाज गठन गरी आफ्नो जन्म थलोमा केही गर्नुपर्छ भन्ने भावनाको कदर गरे ।

प्रदेश सभा सदस्य रेखा गुरुङले जनताले देख्ने गरी काम गर्ने बताइन् । कुश्मा नगरपालिका उपप्रमुख स्वास्थानी रिजालले वडामा एम्बुलेन्स नहुँदा बिरामी ल्याउन असहज भएको अवस्थामा दुर्लुङ समाजले गरेको अभियानमा हातेमालो गर्ने बताइन् । उनले ५१ हजार रुपैयाँ एम्बुलेन्स अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम पौडेलले संस्थामा भए गरेका कामको विवरण सुनाए । कार्यक्रमको सञ्चालन सचिव ईश्वरी पौडेलले गरेकी थिइन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.