www.tandavnews.com
Fact ~ In search of truth

सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन्।
Batas
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उहाँले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, “अनुसन्धानमा कुनै पक्षपात हुने छैन, सरकार जस्तो सुकै दबाब आए पनि झुक्दैन । अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार दोषीलाई कारबाही गर्न दृढ छ ।”
नक्कली भूटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उनले अनुसन्धानका क्रममा प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “कोही निर्दाेष फस्ने काम नहोस् भनेर प्रारम्भदेखि नै सचेत हुन, कसैको सार्वजनिक छविमाथि अनावश्यक आशङ्का  र क्षति पुग्न नपाओस् भनेर होसियार भएर प्रहरीले निष्ठापूर्वक र निष्पक्ष ढङ्गले अनुसन्धान अघि बढाएको छ ।”
अनुसन्धानका क्रममा प्रमाण र तथ्य देखापरेका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अनुसन्धानले पुष्टि गरेका आधारमा कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री श्रेष्ठले भने, “संसद्मा सांसदले बाहिर नागरिक समाज र बुद्धिजीवी, राजनीतिक दलका कार्यकर्ता र जनसमुदायको ठूलो हिस्साले भ्रष्टाचार विरोधी अभियान चलाउनै पर्छ भनी व्यक्त गर्नुभएको विचार र अभियानप्रति आभार व्यक्त गर्छु ।”
भ्रष्टाचार र कमिसनको जालोले देशलाई बर्बादी गरेकाले त्यसको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुशासन कायम गरी समृद्धि हासिल गर्ने वर्तमान सरकारको पहिलो कार्यभार रहेको स्पष्ट पारे । उपप्रधानमन्त्री श्रेष्ठले भने, “देश बनाउने हो भने दलगत राजनीतिक स्वार्थभन्दा माथि उठ्नु पर्छ, उठौँ ।”
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.