www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभामा तीन महिनापछि सांसद चन्द्र भण्डारीको सम्बोधन

काठमाडौँ ।

ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
Batas
यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेकाे आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरे ।
गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर फर्किएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे ।
उनले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताए। उनले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिए । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेश गरे ।
उनले भने, “गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।”
सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिए । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एशियाको सबैभन्दा उत्कृष्ठट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराए ।
उनले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताए ।
हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उनले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गरे ।  उनले  खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न  र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.