www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीकाे भारत भ्रमण: यस्तो छ भोज देखि भेटघाटसम्मका कार्यक्रम

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्नेे भएका छन्।
Batas
प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जानलागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । उनिसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेेछन् । उनले जेठ २० गते काठमाडौँ फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.