www.tandavnews.com
Fact ~ In search of truth

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

दमौली ।

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो ।

यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो । गत वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण मङ्गलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गाैला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा सातवटा बिग्रिएका थिए ।

Batas

राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो । उनले भने, “अब नौवटा उपकरणबाट सेवा दिन सकिने भएको छ ।” चारवटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै आएको थियो । चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने गरेका थिए । एघारवटै उपकरण सञ्चालन भए दैनिक २७ बिरामीले सेवा पाउन सक्छन् । केन्द्रले दैनिक बिहान ७ देखि राति ११ बजेसम्म डायलायसिस सेवा सञ्चालन गर्दैआएको छ ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याइएको बताए । केन्द्रमा हाल डायलायसिस सेवा लिने बिरामीको सङ्ख्या ५० रहेको छ । अझै ३० मिर्गौलापीडित डायलायसिसका लागि पालो पर्खिँदै छन् । उनीहरु मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमितरूपमा गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन् ।

उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए । “ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरुले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुप¥यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौँ ।”

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिएको छ । युनिटमा हालसम्म दुई सय २८ जनाले डायलायसिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेकी थिइन् ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.