www.tandavnews.com
Fact ~ In search of truth

मुआब्जाकै कारण विमानस्थलको काम नरोकियोस्:सांसद थापा

ईश्वर देवकोटा
पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य मुआब्जाका कारण रोकिन नहुने बताएका छन् ।

आज आइतबार बसेको प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै थापाले गण्डकी प्रदेशकै गौरवको आयोजनाको काम मुआब्जाका कारण रोकिन नहुने भन्दै संसदमा ध्यानाकर्षण गराए ।

Batas

‘यस अघि नै जग्गा अधिग्रहण गर्दा एउटै व्यक्ति चारपटक सम्म विस्थापित हुनुपरेको छ,’ उनले भने, ‘अहिले पुनः जग्गा अधिग्रहणको कुरा आएको छ जसमा १५० घर पर्ने भनिएको छ, उनीहरुको उचित मुआब्जा कति हो सोही अनुसार स्थानीयको चित्त बुझाउनु पर्छ ।’

२०७१ सालमा पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष भई मुआब्जा सहयोग समितिको संयोजक हुँदा बाटो नभएको जग्गा प्रति रोपनी २० लाख, कच्ची बाटो भएको २८ लाख, पक्की बाटो भएको ४२ लाख निर्धारण गरिएको जनाउँदै सो समयमा चलनचल्तीको मूल्य भन्दा अत्यन्तै न्यून मूल्यमा स्थानीयले जग्गा दिएको बताए ।

‘चलनचल्तीमा सो समयमा रोपनीको एक करोड हाराहारीमा थियो,’ उनले भने, ‘स्थानीयबासी र सरोकारवालासँगको समझदारीमा न्यून मूल्यमा जग्गा उपलब्ध भएको हो ।’

नीजि विमान कम्पनीको विमान ह्याङ्गरको लागि र पेट्रोलियम भण्डारणका लागि थप जग्गा आवश्यक परेको भन्दै एयरपोर्टको उत्तरपूर्वी र दक्षिण भागमा जग्गा अधिग्रहणका लागि पुनः नेपाल सरकारले निर्णय गरेर सम्बन्धित वडामा पत्राचार समेत गरिसकेको उनले संसदमा सुनाए ।

सांसद थापाले मुआब्जाकै कारण प्रदेशकै गौरवको रुपमा रहेको आयोजना रोकिन नुहँने भन्दै ध्यानाकर्षण गराए ।

गण्डकी प्रदेश सांसद थापाले प्रदेश सभामा आइतबार सम्बोधन गरेको सम्पादित अंश

सभामुख महोदय,
गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०३१ सालमा नेपाल सरकारको निर्णयअनुसार ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ०७१ सालमा थप ६ सय २९ रोपनी जग्गा आवश्यक पर्ने देखिएर त्यससमयमा अधिग्रहण गरियो ।

हाल आएर नीजि विमान कम्पनीको विमान ह्याङ्गरको लागि र पेट्रोलियम भण्डारणका लागि थप जग्गा अहिले बन्दै गरेको एयरपोर्टको उत्तरपूर्वी भागमा र दक्षिण भागमा जग्गा अधिग्रहणका लागि पुनः नेपाल सरकारले निर्णय गरेर सम्बन्धित वडामा पत्राचार समेत गरिसकेको अवस्था छ । जसबाट पहिले पनि त्यहाँका बासिन्दाहरु एउटै व्यक्ति चार पटकसम्म विस्थापित हुने अवस्था आएको छ ।

०७१ सालमा पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा जग्गा मुआब्जा सहयोग समितिको संयोजक समन्वय गरेको थिए । सो समयमा बाटो नभएको जग्गा रोपनीको २० लाख रुपैयाँ, कच्ची बाटो भएको जग्गा रोपनीको २८ लाख रुपैयाँ पक्की बाटो भएको जग्गा रोपनीको ४२ लाख रुपैयाँ निर्धारण गरिएको थियो । आज भन्दा ४ वर्ष अगाडि पनि चलन चल्तिको मूल्यमा एक करोड पर्ने जग्गालाई अत्यन्तै न्यून मूल्यमा जग्गा स्थानीयले दिएका हुन् ।

जग्गा मुआब्जाको विषयले गण्डकी प्रदेशकै गौरवकै आयोजनाको काम रोकिने त होइन शंका उब्जिएको छ । यसै सन्दर्भमा स्थानीयबासीको तर्फबाट सघर्ष समिति पनि गठन भइसकेको छ । सोही कारणले नै निर्माण प्रक्रियालाई अवरुद्ध हुन नदिन सभामुख महोदय मार्फत प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।

झण्डैं १५० घर विस्थापित हुनुपर्ने अवस्था आएको छ भनिएको छ । सबैलाई मुआब्जा दिने काममा चित्त बुझाएर निर्माण प्रक्रिया अघि बढाउन सम्मानित सभामा अनुरोध गर्दछु ।

याे पनि पढ्नुहाेस् ।

स्थानीयलाई दुख दिँदै पोखरा विमानस्थल आयोजना

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.